गुणबहादुर रोका
सुलीकोट, असार १० गते । गोरखामा अविरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक खण्ड १८ घण्टा पछि एकतर्फी सुचारु भएको छ । आइतबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक खण्डअन्र्तगत शहिद लखन गाउँपालिका–७ ढुङगाडेमा सडक भासिएर सोमबार बिहानबाट अवरुद्ध भएको सडक मङ्गलबार बिहानबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखाको विभिन्न सडकमा क्षति पुगेको छ । उक्त सडक अवरुद्ध भएपछि गोरखा सदरमुकामबाट शहिद लखन गाउँपालिका लगायत प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने सवारी साधनहरु मङ्गलबारबाट सहज रुपमा सञ्चालनमा आएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो ।
सडकै भासिएर झण्डै तीन सय मिटर तल पहिरो गएकाले उक्त पहिरोलाई पन्छाउन शहिद लखन गाउँपालिका, पूर्वाधार कार्यालय गोरखा, नेपाल प्रहरी र स्थानिय जनप्रतिनिधिको सहयोगमा जेसिबी प्रयोग गरी एकतर्फी रुपमा सडक सुचारु गरिएको शहिद लखन गाउँपालिकाका–७ वडा अध्यक्ष शरण श्रेष्ठको भनाइ छ ।
अहिले गोरखा सदरमुकामदेखि ढुङ्गाडे, बुङकोट, नाम्जुङ, घैरुङ बतासेदेखि मनकामनासम्म बिना अवरोध सवारीसाधन सञ्चालनमा आइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।