• १० असार २०८२, मङ्गलबार

महोत्तरीमा एकातिर गाउँ नगरसभा हुँदै, अर्कोतर्फ विरोध हुँदै

blog

रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साह नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), असार १० गते ।
स्थानीय तहले असार १० गते (मङ्गलबार)सभा सम्पन्न गर्नुपर्ने प्रावधान अनुसार भइरहेको गाउँ/नगरसभाको क्रममा महोत्तरीका स्थानीय तहहरुमध्ये कतिपयमा एकातिर तामझामका साथ सभा गरिएको छ भने अर्कोतर्फ विरोध हुने अवस्था देखिएको छ ।

कतिपय ठाउँमा जनप्रतिनिधिहरु नै दुई भागमा विभाजन भएको अवस्था देखिएको छ । कतिपय ठाउँमा नगरप्रमुख÷अध्यक्षसहितका केही वडा अध्यक्ष र सदस्यहरु एक पक्षमा र नगरउप प्रमुख÷उपाध्यक्षहरु अर्को पक्षमा देखिएका छन् । यस्तो हुनुको मुख्य कारण जनप्रतिनिधिको स्वार्थ पूर्ति नहुनु रहेको नागरिक समाजले टिप्पणी गरेका छन् ।

यस्तै, अवस्था मनरासिस्वा नगरपालिकामा सोमबार सम्पन्न भएको नगरसभामा देखियो ।

सोमबार मनराशिसवा नगरपालिकाको १४ औं नगरसभामा नगर प्रमुख मोहन पाण्डेयले आर्थिक वर्ष ०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा वडाअध्यक्ष तथा कार्यपालिका केही सदस्यले विरोध जनाउँदै होहल्ला  गर्न थालेपछि सभा अवरुद्ध भयो ।

नगर प्रमुख पाण्डेयले उद्घाटन सत्रमा सबैजना सहभागी भएर बन्द सत्रमा आफ्नो धारणा राख्न आग्रह गर्दैगर्दा असन्तुष्ट जनप्रतिनिधिले होहल्ला गरेर सभानै बिथोल्ने प्रयास गरेको देखियो । उहाँहरुले सभा कक्षमा आयोजित नगरसभाको मञ्चमा पुगेर होहल्ला गर्न खोजेपछि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी सभाहलबाट बाहिर निकालेर मात्रै कार्यक्रम अगाडि बढ्यो ।

नगरसभा गर्न पूर्वप्रकाशित सूचनाअनुसारको कार्य वा छलफल नगरी कानुन मिचेर जबरजस्ती सभा र नीति तथा कार्यक्रम आयोजना भएको भन्दै ६ जना वडाध्यक्षसहित ३० जना नगरसभा सदस्ययले विरोध गर्नुभएको थियो ।

अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम कानुनबमोजिम कार्यन्वयन नगरेको र आउने आर्थिक वर्षको बजेट नीति तथा कार्याक्रको प्रक्रिया पूरा नगरेकाले बहुमत नगरसभा सदस्यले सभा स्थगित गरी छलफल गर्न माग गर्दा पनि नगरप्रमुख पाण्डेयले अटेर गरेको वडा नं. ९ का वडाध्यक्ष शशिभूषण झाले आरोप लगाउनुभयो ।

यसैगरी, गाउँसभाको उद्घाटनमा महोत्तरी गाउँपालिकाका वडाध्यक्षहरुले पनि अध्यक्षले मनोमानी ढङ्गले नीति तथा कार्यक्रम र बजेट ल्याएको, पछिल्लो वर्ष बजेट सञ्चालनमा अनियमितता भएको भन्दै विरोध प्रदर्शन गर्नुभयो ।

त्यसैगरी, सोनमा गाउँपालिकामा उपप्रमुख जहिदा खातुन, तीन जना वडाध्यक्षसहित सात जनाले गाउँसभाको विरोध गर्नुभएको छ । उहाँहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम हुनुपर्ने भए तापनि वडा भेला, योजना छनोट र विभिन्न समितिको बैठक नगरी गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले ल्याउन लागेको बजेट, नीति तथा कार्यक्रम रोक्न ज्ञापनपत्र नै बुझाएको वडा नंं १ का अध्यक्ष अशोककुमार यादवले बताउनुभयो । सोनमामा गत वर्ष पनि विवाद हुँदा प्रहरीको घेराभित्र नगरसभा गरिएको थियो ।

सोमबार सम्पन्न मनराशिसवा नगरपालिकाले ५६ करोड ७४ लाख ८१ हजार ६ सय चौतिस रुपियाँ, राममगोपालपुर नगरपालिकाले ४६ करोड १६ लाख ७६ हजार ९०१ रुपियाँको बजेट ल्याएको छ भने एकडारा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ करोड ८६ लाख ९६ हजार ५० रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

यसअघि महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ रुपियाँको बजेट सार्वजनिक गरेको छ भने मटिहानी नगरपालिकाले ४४ करोड ५० लाख सार्वजनिक गरेको छ ।

महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी, मनराशिसवा, रामगोपालपुर, लोहारपट्टी नगरपालिका, एकडारा, पिपरा, सम्सी, महोत्तरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । बर्दिवास, बलवा, औरही, सोनमा र गौशालालगायतका स्थानीय तहले आज मङ्गलबार बजेट ल्याउँदै छन् ।