रानी समाचारदाता
रानी, असार १० गते। मोरङको विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० लाखको बजेट विनियोजन गरेको छ। मङ्गलबार नगर सभाको १६ औँ अधिवेशनको बैठकमा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षका लागि नीति कार्यक्रमका साथै बजेट प्रस्तुत गर्नुभएको हो।
महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपियाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र सङ्घसंस्थालाई अनुदानस्वरूप पाँच करोड पाँच लाख छुट्याइएको छ। सामाजिक क्षेत्रमा कुल एक अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा एक करोड ९० लाख, आर्थिक विकासमा दुई करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा तीन करोड १० लाख र सुशासन तथा संस्थागत विकासमा तीन करोड ३० लाख विनियोजन गरिएको छ।
महानगरले अनुमानित खर्च व्योहोर्नका लागि आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड, संघीय सरकारबाट अनुदानमार्फत ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट चार करोड २३ लाख ६७ हजार र घरजग्गा रजिष्ट्रेसनबाट मात्रै ९४ करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ। अन्य राजस्व स्रोतमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विज्ञापन कर, सडक बोर्ड अनुदान र मौज्दात रकम पनि समावेश छन्।