• १७ साउन २०८२, शनिबार

‘का नु वने जिमिथाय मैचा’ गीतको म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौँ, साउन १७ गते । नेपाल भाषा ‘का नु वने जिमिथाय मैचा’को गीत सार्वजनिक गरिएको छ ।

काठमाडौँको कीर्तिपुर कम्प्लेक्समा शनिबार आयोजित एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

रत्नशोभा महर्जन र राजेश महर्जनको स्वर रहेको गीतमा सङ्गीत संयोजन जीवित जल्मीको रहेको छ भने शब्द र सङ्गीत राजेश महर्जनले भर्नुभएको छ ।

राजन शाहीद्वारा निर्देशित यो म्युजिक भिडियोको छायाङ्कन र सम्पादन मनोज रत्न शाहीले गर्नुभएको छ । अनुज शाक्य, राष्ट्रिका शाक्यको प्रमुख भूमिकामा केन्द्रित यस म्यूजिक भिडियोमा थां बहा भजन खल:का सदस्यको प्रस्तुतिलाई प्रस्तुत गरिएको छ । 

कीर्तिपुर र मनकामनाका रमणीय स्थानलाई छायाङ्कन गरिएको यसमा कथाले दुई पात्रबिचको फुलिरहेको प्रेमकथालाई देखाइएको छ । नेवारी परम्परा र सांस्कृतिक माहोललाई पृष्ठभूमि बनाएर युवा युवतीबिच प्रेम देखाइएको छ । 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन, वरिष्ठ चलचित्र समीक्षक विजय रत्न असंबरे, स्थानीय कलाकारहरू र कीर्तिपुरका स्थानीयहरूको उपस्थिती रहेको थियो । 

कार्यक्रममा फिल्म समीक्षक विजय रत्नले बनिरहेका नेपाल भाषाका म्युजिक भिडियोभन्दा यो फरक परिदृश्यमा बनेको बताउनुभयो ।  मुख्यत: नृत्यका दृश्यहरूमा भर पर्नुको सट्टा, पदकथा बुनेर यस म्युजिक भिडियोलाई उत्कृष्ट बनाउन खोजिएको उहाँको भनाइ थियो । 

छायाङ्कन र सम्पादन प्राविधिक हिसाबले एकदम राम्रो रहेको बताउनुभयो । जुन हिसाबले सङ्गीत संयोजन भएको छ । त्यसैअनुसार सम्पादनको काम पनि उत्कृष्ट छ । म्यूजिक भिडियो युट्युबमा समेत उपलब्ध छ।