• १० असार २०८२, मङ्गलबार

बर्दियाका आठ स्थानीय तहको बजेट सात अर्ब ३७ करोड

blog

गुलरिया नगरपालिकाले आयोजना गरेको नगर सभाको १४ औँ अधिवेशनमा नगरप्रमुख मुक्तिनाथ यादव, उप प्रमुख सावित्रा गौतम र प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह। तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी

बबई (बर्दिया), असार १० गते । बर्दिया जिल्लामा रहेका ६ नगरपालिका र २ गाउँपालिका गरी आठ वटा स्थानीय तहहरुले आर्थिक वर्ष २०८२-०८३ का लागी ७ अर्ब ३७ करोड ५२ लाख ४७ हजार ३७९ रुपियाँको बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

बर्दिया जिल्लाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको गुलरिया नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ५ करोड ३५ लाख १४ हजार ७३१ रुपियाँको बजेट मङ्गलवार १४ औँ नगर अधिवेशनबाट सार्वजनिक गरेको छ । 

गुलरिया नगरपालिकाले सार्वजनिक गरेको बजेटसहितको नीति तथा कार्यक्रममा गुलरियामा रहेको प्रमुख पर्यटकिय क्षेत्र दुर्लभ जनावर कृष्णसार संरक्षणदेखि पर्यटन प्रवर्द्धन प्रचारप्रसार र नगरवासीलाई कृषिमा अभिप्रेरित गर्दे आमदानी बढाउँदै युवाहरुलाई रोजगार प्रवर्द्धन गर्नेसम्मका कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ भने गुलरिया नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न किसिमका विकास निर्माणसम्बन्धी कामहरु सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा सङ्घ र प्रदेशसँग सहयोगको अपेक्षा राखेको छ । 

त्यसैगरी गुलरिया नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने, नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा सञ्चालनरत नगर स्वास्थ्य केन्द्रहरूलाई अझ प्रभावकारी बनाउने र नगरवासीका लागि नगर सरकार छ भन्ने तथ्य कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । 

त्यसैगरी बार बर्दिया नगरपालिकाले बारबर्दिया नगरपालिकामा रहेको प्रमुख पर्यटकीय क्षेत्र सतखलुवा तालको संरक्षणसहित प्रचार प्रसार गर्ने गरी आगामी वर्षका लागि ९९ करोडको वार्षिक बजेट सार्वजनिक गरेको बार बर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताउनुभयो । बाँसगढी नगरपालिकाले ९४ करोड २५ लाख, मधुवन नगरपालिकाले १ अर्ब, बढैयाताल गाउँपालिकाले ७१ करोड २५ लाख ४३ हजार ९४५, ठाकुरबाबा नगरपालिकाले ९६ करोड ८९ लाख ६२ हजार ६३४, राजापुर नगरपालिकाले १ अर्ब १२ करोड ७ लाख ४ हजार र गेरुवा गाउँपालिकाले ५९ करोड ११ लाख ६६ हजार ८०० रुपियाँको बजेट मङ्गलवार सार्वजनिक गरेका छन् । 

बर्दिया जिल्लामा यस वर्ष सबै पालिकाले समयमा नै बजेट सार्वजनिक गरेका छन् ।