• ११ वैशाख २०८२, बिहिबार

कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँदिल्ली, वैशाख ११ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।

हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म सारा विश्वलाई भन्छुः भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।”

पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो ।

मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए ।

भारतले बुधबार इस्लामाबादलाई ‘सीमापारि आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृङ्खलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो ।

पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गर्नुभयो ।

“म यो स्पष्ट रूपमा भन्छु : जसले यो आक्रमण गरेको छ र जसले यसको योजना बनाएको छ, तिनीहरूको कल्पनाभन्दा बाहिर तिनीहरूलाई भुक्तान गरिनेछ”, उहाँले ठुलो भिडको अगाडि हिन्दीमा बोल्दै भन्नुभयो, “तिनीहरूले निश्चय नै भुक्तान गर्नेछन् । यी आतङ्कवादीहरूसँग जति थोरै भूमि छ, त्यसलाई धूलोमा मिलाउने समय आएको छ । एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतङ्कवादीहरूको मेरुदण्ड तोड्नेछ ।”

उहाँले अङ्ग्रेजीमा दुर्लभ टिप्पणीहरू दिएर आफ्नो भाषण समाप्त गर्नुभयो र तिनीहरूलाई विदेशमा दर्शकहरूसम्म पुर्‍याउनुभयो ।

“आतङ्कवाद दण्डित हुने नै छ”, मोदीले भन्नुभयो, “न्याय सुनिश्चित गर्न हरेक प्रयास गरिनेछ ।”

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबिच विभाजित भएको छ । दुवैले उच्च–उचाइको क्षेत्रलाई पूर्ण रूपमा दाबी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्छन् ।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।

भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि कश्मीरमा ठुलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठुलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ । रासस/एएफपी