• १२ वैशाख २०८२, शुक्रबार

रैथाने बाली चीनमा निर्यात

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १२ गते । हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनको ताक्लाकोटमा बिक्री भएको छ । दुवै देशका स्थानीय उद्यमीबिच सम्झौता भएपछि हिमाली क्षेत्रमा उत्पादन भएका रैथाने बालीको चीन निर्यात भएको हो । 

चिनियाँ खाद्यसम्बन्धी स्थानीय कम्पनीसँग रैथाने बाली निर्यातका लागि सम्झौता भएसँगै उक्त बाली ताक्लाकोटमा निर्यात गर्न सफल भएको सिमकोट गाउँपालिका–६ का खाद्य उद्योग सञ्चालक मुकुन्द रोकायाले बताउनुभयो । उहाँले सम्झौतापछि पहिलो पटक तीन क्विन्टल रैथाने बालीका परिकार ताक्लाकोट पुर्‍याएर उताको स्थानीय कम्पनीलाई बेचिएको जानकारी दिनुभयो । चीनको ताक्लाकोटमा पहिलो पटक यति परिणामको खाद्यान्न निर्यात भएको छ । यसबाट १८ लाखको व्यापार भएको उहाँले बताउनुभयो । 

पहिलो पटक ताक्लाकोट पुर्‍याइएका रैथाने बालीमा कोदो र फापरको पिठो, चुली र ओखरको तेल, मार्सी चाम, लिमी र खुर्सानी छन् । 

ताक्लाकोटको स्थानीय कम्पनीसँग रैथाने बाली उपलब्ध गराउन सक्ने अवस्था रहेसम्म निर्यात गर्न सकिने गरी सम्झौता गरिएको छ । यसका लागि भन्सार विभागको अनुमति, नापतौल गुणस्तर विभागको प्रमाणीकरण र खाद्य गुणस्तर नियन्त्रणबाट प्रयोगशाला परीक्षणसमेत गरेर खाद्यान्न लगिएको उहाँले बताउनुभयो । 

अब सम्भव भएसम्म सधैँ हुम्लामा उत्पादन हुने रैथाने बाली ताक्लाकोट लगेर बेचिने उहाँले बताउनुभयो । त्यसका थप चिनो र कागुनोको चामल पनि माग रहेकाले यस वर्षदेखि त्योसमेत निर्यात गर्ने तयारी उहाँको छ ।