काठमाडौँ, पुस ३ गते । टाउकोमा गोलीको छर्रा, शरीरको अर्को भाग प्यारालाइसिस अनि दायाँ आँखा पूर्ण बन्द र बाँया आँखाको ६६ प्रतिशत मात्र भिजनको भरमा अस्पताल धाइरहनुभएका जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेत समुन्नत नेपाल हेर्ने प्रतीक्षामा हुनुहुन्छ ।
प्यारालाइसिस कम गर्नका लागि निरन्तर फिजियोथेरापी र गुमेको दृष्टि जोगाउन आँखा उपचारलाई निरन्तरता दिइरहनुभएका उहाँ भन्नुहुन्छ, “मुलुकमा सुशासन बहाली भएको हेर्न मन छ । मुलुक निर्माणको अभिलाषा बोकेर आन्दोलनमा होमिएका युवापुस्ताको मुहारमा खुसी छाएको देख्न पाइएला भन्ने आशा छ ।”
दैलेख भगवतीमाई गाउँपालिका–१ का दीपेन्द्र वैदेशिक रोजगारीका लागि युरोपियन देश स्लोभाकियातर्फ उड्ने तयारी गर्दै हुनुहुन्थ्यो । त्यहीबेला देशमा सामाजिक सञ्जालमाथि नियन्त्रणको विरोधमा जेनजी आन्दोलन भयो । भदौ २३ गते भएको आन्दोलनमा उहाँलाई टाउकोमा गोली लाग्यो । गोली लागिसकेपछि तत्काल माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल ल्याइयो । ६९ दिनसम्म न्युरो अस्पतालमा उपचार गराउनुभएका बस्नेतको अन्ततः दायाँ आँखा पूर्ण रूपमा गुम्यो । बायाँ आँखाको दृष्टि पनि ६६ प्रतिशत मात्र बाँकी छ । उहाँलाई एउटा चिन्ता मनमा लागिरहन्छ, बायाँ आँखाको ६६ प्रतिशत दृष्टि गुमेर पूर्ण दृष्टिविहीन हुने हो कि । मलिन स्वरमा उहाँ भन्नुहुन्छ, “जिन्दगीमा यस्तो अवस्था आउला भन्ने लागेको भए त्यस दिन घरबाट निस्कने नै थिइनँ ।”
नियमित ‘फलोअप’ का लागि अस्पताल जाँदा, आउँदा वा अन्य कुनै काम पर्दा श्रीमती सिर्जना खड्काको सहारा लिनुपर्ने हुन्छ । अहिले दीपेन्द्र एक्लै हिँडडुल गर्नसमेत सक्नुहुन्न । वैदेशिक रोजगारका लागि युरोपियन मुलुक जान लाग्नुभएका दीपेन्द्रको सपना चकनाचुर छ । नेपालमा हुँदा इलोक्ट्रोनिक काम गरेर जहान परिवार पाल्नुभएका दीपेन्द्रले विदेश जानका लागि म्यानपावर कम्पनीमा दुई लाख रुपियाँ बुझाइसक्नुभएको थियो । हालसम्म त्यो रकम पनि फिर्ता पाउन सक्नुभएको छैन । म्यानपावरले हुन्छ, दिन्छु भन्ने वचन दिएको छ तर हालसम्म पैसा हात लागेको छैन । वैदेशिक रोजगारका लागि उहाँसहित साथीले भिसा आवेदन गर्नुभएको थियो । दीपेन्द्रले भिसा पाउनुभयो तर उहाँको साथीको भिसा आएन । “कस्तो अभागी रहेछु, विदेश गएर कमाउने ठुलो सपना थियो । १२ लाख खर्चिएर विदेश जान लागेको थिएँ,” दीपेन्द्रले भन्नुभयो, “जेनजी आन्दोलनले मेरो सपना चकनाचुर बनाइदियो ।”
श्रीमती र छोरालाई गत वैशाखदेखि काठमाडौँको वसुन्धरामा कोठा खोजेर राख्नुभएको थियो । श्रीमती र चार वर्षीय छोरालाई गत वैशाख महिनादेखि काठमाडौँमा ल्याएर छोरालाई विद्यालयमा भर्ना गराउनुभएको थियो ।
केही समयअघि दीपेन्द्रको भिजन परीक्षण गराउँदा दायाँ आँखा शून्य भिजन र बायाँ आँखा ६६ प्रतिशत मात्र देख्न सक्ने पुष्टि भयो । हाल दीपेन्द्रले वसुन्धरास्थित काठमाडौँ नेचुरोपेथी अस्पताल वसुन्धरामा फिजियोथेरापी गराइरहनुभएको छ । सुरुमा प्यारालाइसिस हुनुभएका दीपेन्द्रलाई निरन्तर फिजियोथेरापी भएपछि अहिले केही कम भएको छ । अहिले पनि उहाँको देब्रेतर्फको शरीर पूर्ण रूपमा चल्दैन । त्यसैका लागि फिजियोथेरापी भइरहेको छ । आँखाको उपचार तिलगङ्गा आँखा अस्पतालमा भइरहेको छ ।
दीपेन्द्रकी श्रीमती सिर्जना खड्का विदेश जान लागेको श्रीमान्को अवस्था गम्भीर भएपछि सरकारले पूर्ण उपचार गराइदिनुपर्ने आग्रह गर्नुहुन्छ । उहाँले बाँकी उपचारसहित निको भएपछि रोजगारको व्यवस्था गर्नुपर्ने, आफूलाई समेत रोजगार दिनुपर्ने, छोराको शिक्षा निःशुल्क गर्नुपर्ने आफ्नो माग रहेको बताउनुहुन्छ ।
उहाँले तिलगङ्गामा आँखाको उपचार गराउन गए पनि समान्य नागरिकलाई जस्तो व्यवहार गर्ने गरेको आरोप लगाउनुभयो । “सुरुको दिन अस्पताल जाँदा जेनजी घाइते कार्डले हँुदैन भन्नुभयो,” सिर्जनाले थप्नुभयो, “तेस्रो पटक ओपिडीको शुल्क मात्र छुट भयो । छ हजार औषधीमा मात्र लागेको छ ।” उहाँले टाउकोमा अझै गोलीका छर्रा रहेकाले आँखा गुम्न सक्ने भन्दै सरकारले राम्रोसँग उपचार गरिदिएर बाँकी आँखा गुम्नबाट जोगाइदिन आग्रह गर्नुभयो । डा. सन्दुकलाई दीपेन्द्रले आँखा देखाउने इच्छा राखे पनि उहाँको इच्छा पूरा हुन सकेको छैन । सायद उहाँले उपचार गर्नुभयो भने ठिक हुने थियो भन्ने आशा गरे पनि त्यो अवसर अझै नपाएको गुनासो उहाँको छ । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी घाइतेको स्वास्थ्य उपचार सरकारले निःशुल्क गरिरहेको जानकारी दिनुभयो । अस्पतालमा नभएको औषधी खरिद गरेको छ भने पनि अस्पताललाई बिल पेस गरेपछि पैसा भर्पाई हुने प्रवक्ता बुढाथोकीको भनाइ छ ।