• ३ पुस २०८२, बिहिबार

गोरखापत्र सधैं पहिलो रहनुपर्छः सञ्चार सचिव अर्याल

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल

काठमाडौँ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र सधैं नै पहिलो रहनुपर्ने बताउनुभएको छ । 

‘दी राइजिङ नेपाल’ ६१ वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्नुहुँदै उहाँको सो कुरा बताउनुभयो । 

उहाँले गोरखापत्र स्थापनाको आधारमा मात्र नभइ गोरखापत्रले प्रदान गर्ने सेवा र गुणस्तरका हिसाबबाट पनि गोरखापत्र सधैं पहिलो रहनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी सबैलाई थाहा छ नेपालको केही पहिला संस्थामध्ये गोरखापत्र संस्थान पनि एक हो । मन्त्रालय, सरकार र मलाई लाग्छ, यो सधैं पहिला नै रहनुपर्छ । स्थापनाको आधारमा मात्रै होइन । यसले डेलिभर गर्ने कन्टेन्टको आधारमा, यसले दिने सर्भिसको आधारमा, क्वालिटीको आधारमा यो सधैं पहिला नै हुनुपर्छ ।

उहाँले गोरखापत्र संस्थान राज्यको सूचना प्रवाह गर्ने महत्त्वपूर्ण माध्यम मात्र नभइ यसले सरकार, निजी क्षेत्र र आम जनतालाई एकताबद्ध गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गोरखापत्र संस्थान राज्यको सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम मात्रै नभइ नयाँ आयामबाट यसले सरकार, निजी क्षेत्र र आम जनतालाई एकताबद्ध गरेको छ । यो कार्यक्रमले यसले थप बल प्रदान गरेको छ । आज तीन वटा महतवपूर्ण सेसनमा यहाँ छलफल आयोजना भयो । स्मार्ट पूर्वाधरको विषयमा, निजी क्षेत्रको मनोबल बढाउने विषयमा, पुँजी परिचालन विषयमा, सम्बन्धित विषय विज्ञ, सरोकारवालाको उपस्थितिमा छलफल भएको छ ।” 

यसले यथार्थ अवस्थाको विश्लेषण गर्नुका साथै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त भएको उहाँको भनाइ छ ।