• २५ चैत २०८२, बुधबार

६ करोडभन्दा बढीको पाठ्यपुस्तक बिक्री

blog

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जको गोदाममा रहेका पाठ्यपुस्तक । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २५ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री गरिरहेको छ । 

नयाँ शैक्षिकसत्रका लागि चैत २४ गतेसम्ममा कार्यालयले ६ करोड २५ लाख ३८ हजार चार रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिक सत्रका लागि चैत २४ गतेसम्म नेपालगन्ज कार्यालयबाट ६ करोड २५ लाख ३८ हजार चार रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरिसकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २४ गतेसम्म चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ । कर्णालीको हुम्लामा एउटा बिक्रेतामार्फत ५ हजार ५९१ थान, डोल्पामा ६ वटा बिक्रेतामार्फत १३ हजार ४९ थान, रुकुमपश्चिममा १९ वटा बिक्रेतामार्फत एक लाख ६५ हजार १९२ थान, जाजरकोटमा दुई वटा बिक्रेतामार्फत १४ हजार १५ थान र सल्यानमा ११ वटा बिक्रेतामार्फत ४२ हजार ८९५ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।

त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा बिक्रेतामार्फत ३० हजार ४९ थान र रोल्पामा १४ वटा बिक्रेतामार्फत एक लाख ९१ हजार ७५ थान गरी जम्मा चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २५ र २६ गते दाङ, २७ र २८ गते बर्दिया र २९ र ३० गते बाँके जिल्लाका बिक्रेताहरुलाई पाठ्यपुस्तक वितरण गरिने तालिका रहेको छ । कक्षा ३ को १७ हजार ४३६ थान, कक्षा ५ को ३८ हजार २९१ थान, कक्षा ६ को ७३ हजार ६३१ थान, कक्षा ७ को ७७ हजार ३५४ थान, कक्षा ८ को ८३ हजार ४२८ थान, कक्षा ९ को ८३ हजार ३६३ थान, कक्षा १० को ७९ हजार ४१७ थान, कक्षा ११ को चार हजार ५१० थान र कक्षा १२ को चार हजार ८१६ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

गत  वर्ष १० जिल्लाका १२० बिक्रेतामार्फत् १९ करोड ६० लाख रुपियाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण भएको र यस वर्ष २१ करोड रुपियाँ बराबरका १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री गर्दैआएको छ ।