नारद कोहार
तौलिहवा(कपिलबस्तु), चैत २५ गते । दशौं स्वास्थ्य बीमा दिवसका अवसरमा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता अभिवृद्धि र सेवाको पहुँच विस्तारमा जोड दिइएको छ । “राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान” नारासहित दिवस मनाइएको हो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बीमा प्रणालीलाई थप सुदृढ बनाइनुपर्ने उहाँको भनाइ छ ।
पिपरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट संयोग शिवाकोटीले स्वास्थ्य बीमाले विपन्न नागरिकलाई उपचारमा राहत पु¥याएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । आधारभूत अस्पताल चन्द्रौटाका प्रमुख अमित पाण्डेयले बीमित नागरिकको संख्या बढ्दै गएको उल्लेख गर्दै सेवा प्रदायक संस्थाहरू अझ जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका संयोजक वशिष्ठ तिवारीले जिल्लाको समग्र अवस्थाबारे प्रस्तुतीकरण गर्दै बीमा कार्यक्रममा आवद्ध परिवार तथा सेवाग्राहीको तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँका अनुसार जिल्लामा एक लाख १८ हजार भन्दा बढी परिवार स्वास्थ्य बीमामा आवद्ध छन् । सो मध्ये महिला स्वास्थ्य स्वयंसेविका, ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी, पूर्ण अपांगता भएका तथा एमडीआर–टीबीका बिरामी पनि रहेका छन् ।
स्थानीय तहगत विवरणअनुसार वाणगंगा नगरपालिकामा सबैभन्दा बढी ४२ हजार १३९ परिवार बीमामा आवद्ध रहेका छन् भने कपिलवस्तु नगरपालिकामा २३ हजार ५८३ रहेको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा आधारभूत अस्पताल बदौरका प्रमुख इन्द्र भण्डारी, दर्ता अधिकारी सूर्य प्रसाद पाण्डे, प्रविण चौधरी लगायत विभिन्न वडाका दर्ता सहयोगीहरूको सहभागिता रहेको थियो ।