मुगु समाचारदाता
मुगु, वैशाख १२ गते । माथिल्लो मुगुमा चौँरीपालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । जलवायु परिवर्तनका कारणले हिमालका चरन क्षेत्रमा घाँस नहुँदा र खडेरीका कारणले यो व्यवसाय खस्कँदै गएको हो ।
जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश सरकारले चौँरी पकेट क्षेत्र घोषणा गरेको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका अधिकृत भीमचन्द्र बुढाका अनुसार चौँरी पकेट क्षेत्रमा जलवायु परिवर्तनको असरले चरन क्षेत्रमा घाँस र पानीको अभावले गर्दा चौँरीपालक किसानलाई समस्या भएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार उक्त ठाउँमा अहिले ४५७ वटा चौँरी रहेका छन् । वडा नं. १ डोल्पुगाउँमा ५५ वटा, वडा नं. २ मा ३५०, वडा नं. ५ दाउरागाउँमा ५३ वटा चौँरी पाल्दै आएको कार्यालय प्रमुख बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “मुगुमकार्मारोङ गाउँपालिकाको आर्थिक सहयोग र पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा चौँरीलाई रोगबाट बचाउनका लागि भ्याक्सिन लगाइएको छ, केही सङ्ख्या बढ्छ कि ?”
मुगुमकार्मारोङ गाउँपालिका–१ का स्थानीय तोन्जु लामाका अनुसार जलवायु परिवर्तनका कारणले चुनौती हुँदै गए पनि हिमाली भेगका किसानले केही चौँरीपालन गर्दै आएका छन् । भारी बोक्न तथा घिउ, छुर्पी, नौनी, चमरलगायतको प्रयोजनका लागि चौँरीपालन व्यावसाय राम्रो मानिन्छ । चौँरीको घिउबाट वार्षिक ७० हजारदेखि ८० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । प्रतिमाना घिउ एक हजार छ सय रुपियाँमा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
हिमाली भेगमा चौँरीपालन व्यवसाय गर्दै आएका किसानले सरकारी निकायबाट चौँरीपालनका लागि अनुदान, रोग उपचार, प्रविधिलगायतमा सहयोग नमिल्दा यो व्यवसाय सङ्कटमा रहेको बताउँछन् । पछिल्लो समय यहाँका किसानले खर्क मासिएका कारण चरण अभावसमेत झेल्दै आएका छन् । जिल्लामा एउटा चौँरीको मूल्य ८० हजार रुपियाँभन्दा माथि पर्ने गरेको स्थानीय कार्मा लामाले बताउनुभयो ।