विजयकुमार साह
ढल्केबर, असार १४ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका ३० वर्षीय रामरतन महतो रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शनिबार १२ बजे जनकपुरधामबाट महेन्द्रनगरतर्फ आउँदै गरेका युवक सवार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका महतोको उपचारको क्रममा जानकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मधेश प्रदेश ०२–००५ प. ८७९५ नम्बरको रातो रङ्गको अपाची मोटरसाइकलमा सवार महतो जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत महेन्द्रनगर नजिक अनियन्त्रित भई लडेका थिए । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका महतोको तत्काल उपचारका लागि जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुर लगिएको थियो । उपचारको क्रममा महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।