बोमलाल गिरी
नवलपुर, असार १४ गते। यस वर्ष नवलपुरबाट एसइई दिएका ५ हजार ७ सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जिपिए प्राप्त गरेका छन्। ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार नवलपुरका ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका हुन्।
शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका ५ जना र संस्थागत विद्यालयका ४ जना विद्यार्थी गरी ९ जनाले ४ जिपिए ल्याएका हुन।
प्रकाशित नतिजा अनुसार ज्ञानोदय माध्यमिक विद्यालय कावासोती–८ का आयुष ढकाल, नवजागरण माध्यमिक विद्यालय चोरमाराकी अनुस्का बस्याल, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय हुप्सेकोटकी जस्मिन कंडेलले ४ जिपिए ल्याएका छन्।
त्यस्तै विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगरकी लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ, जनता मावी हर्कपुरकी अङ्किता अधिकारी, ब्लुस्टार माध्यमिक विद्यालय दुम्किबासकी बृन्दा गुप्ता र मुनलाइट आदर्श पब्लिक एकेडेमी देवचुलीकी रोशाले नेपाली ४ जिपिए प्राप्त गरेका हुन।
शिक्षा तथा समन्वय एकाइ कार्यालय नवलपुरका प्रमुख श्रेष्ठका अनुसार नवलपुरबाट यस वर्ष ५ हजार ७ सय ७० जना विद्यार्थीले एसइई दिएका मध्ये ४ हजार ६५ जना अर्थात ७०।४५ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका छन्।
त्यसैगरी नवलपुरमा ३।६ देखि ४ जिपिएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जिपिएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जिपिए १ हजार ४ सय २५, २.४ देखि २.८ जिपिएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जिपिएसम्म २८ जना रहेका छन्।
त्यसैगरी १.६ देखि २.० जिपिएसम्म ० जना र नन ग्रेडिङ १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन्।
नवलपुर जिल्लाबाट ८७ वटा सामुदायिक विद्यालय ४९ वटा संस्थागत विद्यालय, ५ वटा धार्मिक विद्यालय र एउटा खुला गरी १ सय ४२ वटा विद्यालयले एसइईमा विद्यार्थीलाई सहभागी भएका थिए।