पेसावर, असार १४ गते । पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तिन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने छ वटा घर पूर्णरूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय जलवायु तथा मौसम विभागले मङ्गलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ । रासस/एएफपी