रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), साउन १७ गते । गुल्मीको सत्यवती गाउँपालिका–६, जोहाङ पिपलनेटाकी ४० वर्षीय सरिता ढकाल अब गाईपालनको सुरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक सयदिने कामबाट पाएको ६८ हजार रुपियाँ र गाउँपालिकाले अनुदान दिएको २५ हजार रुपियाँको पुँजीबाट एउटा उन्नत गाई खरिद गरेको बताउनुभयो ।
यससँगै ढकालकोमा दुई वटा गाई छन् । केही समयमै दुई वटा गाईको दुध बेचेरै महिनामा ४० देखि ५० हजार कमाइ गर्ने ढकालले बताउनुभयो । पिपलनेटाकै ४१ वर्षीय सरस्वती ढकालले पनि एक सय दिन काम गरेको र गाउँपालिकाको अनुदानबाट मुर्रा भैँसी ल्याउनुभएको छ ।
उहाँले घरमा भएको गाई र भैँसीको गरेर दैनिक १७ लिटर दुध बेचेर मासिक ३५ हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । प्रधानमन्त्री रोजगारमा परदेशबाट फर्किएका पनि जोडिएका छन् ।
हात भाँचिएपछि कुवेतबाट फर्किन बाध्य सत्यवती गाउँपालिका–५, हँसराका ३१ वर्षीय शिखम काउचालाई पनि एक सय दिनको कामले ठुलो राहत दियो । भारतमा रक्त क्यान्सरबाट श्रीमान् बितेपछि छोराछोरीको लालनपालन काँधमा बोकेकी हँसराकी ३९ वर्षीय राधा विकले प्रधानमन्त्री रोजगारले जीविकोपार्जनमा ठुलो सहयोग पुगेको बताउनुभयो ।
जोहाङकी दीर्घकुमारी सार्की चार वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनुहुन्छ । सडक मर्मत, ढलान गर्ने, गोडेटो बाटोमा सिँढी बनाउने, पहिरो सफा गर्ने, नाली खन्ने कामले रोजीरोटी चलेको छ । ११ वर्ष पहिले गम्भीर रोगका कारण श्रीमान् गुमाएकी उहाँलाई पाँच छोरीको लालनपालन र पढाइमा प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत दिएको छ ।
सत्यवती गाउँपालिकाले प्रत्येक वडाबाट योजना छनोट गरेर परिणाम देखिने गरी २६ योजनाको काम सय दिनमा गरेको छ । गाउँपालिकाले आव २०८१/८२ मा प्रधानमन्त्री रोजगारका श्रमिकमार्फत एक सय दिनमा ८१३ मिटर सडक ढलान, ३५ मिटर नाली, ३० मिटर पर्खाल, १६५ मिटर पदमार्गलगायत गरेर २६ वटा योजना निर्माण गरेको गाउँपालिकाका रोजगार संयोजक सुवास आचार्यले जानकारी दिनुभयो । आव २०८१/८२ मा सत्यवती गाउँपालिकामा ४५ पुरुष र ३५ महिला गरेर ८० जनाले रोजगारी पाएका थिए । आव २०८०/८१ मा ९५ जनाले रोजगारी पाएका थिए ।
सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले प्रधानमन्त्री रोजगार कार्यक्रमले सिपविहीन आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई राज्यले न्यूनतम रोजगारी दिँदा गरिबी निवारण गर्न सहयोग
पुगेको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले ५० लाख र सङ्घीय सरकारबाट ५३ लाख ५२ हजार रुपियाँ बजेट विनियोजन भएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जाकारी दिनुभयो ।