राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गत वर्ष जेठ १ गते गर्नुभएको सम्बोधनमा ‘कृषिमा लगानी दशक’ घोषणा गर्नुभएको थियो । त्यसको एक वर्षपछि नेपाल सरकारले पहिलो पटक साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ । कृषि अभियन्ताहरूले यसअघि विसं २०७७ देखि नै साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसको रूपमा मनाउँदै आएका थिए । मित्र राष्ट्र भारतको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाको ७५ औँ बैठकले पारित गरे मुताविक सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेसनल इअर अफ मिलेट्स २०२३) को रूपमा मनाइएको थियो । मूलतः कोदोजन्य बालीहरूको महत्वका बारे प्रचारप्रसार गरी यस प्रकारका खाद्यान्न बालीहरूको उत्पादन र उपभोग बढाउन उत्पादक, किसान, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने उद्देश्य अनुरूप कोदो दिवस मनाउनुको अपरिहार्यता वर्तमान समयमा झनै सान्दर्भिक रहेको देखिन्छ ।
चार हजार वर्षअघि अफ्रिकी महादेशको इथियोपियाबाट उब्जनी सुरु भएको मानिने कोदो घाँसे परिवारमा पर्ने एक बर्से बाली हो । वैज्ञानिक भाषामा कोदो, चिनो, उवा, कागुनो, जुनेलोलगायतका १० थरीका बालीलाई कोदोजन्य समूहमा राखिएको छ । फापर र लट्टे पनि दानाको आकार प्रकार, पोषणसम्बन्धी गुण र उपभोगको तरिकामा कोदोसँग समानता देखिने भएकाले कोदोजन्य बाली अन्तर्गत नै रहेको पाइन्छ । नेपाली भाषामा कोदो भन्नाले गोलाकार स्वरूपको रातो वा सेतो रङको मसिनो दाना भएको खाद्यान्नलाई बुझिन्छ । कोदोको बाला हातको औँला आकारको जस्तो देखिने हुँदा यसलाई अङ्ग्रेजीमा फिङ्गर मिलेट पनि भन्ने गरिन्छ । सुक्खा तथा चिस्यान कम हुने माटोमा पनि उत्पादन राम्रो दिने भएकाले पहाडी क्षेत्रमा कोदोलाई सुखको खेतीको रूपमा लिने गरिन्छ ।
समुद्र सतहदेखि तीन हजार एक सय मिटर उचाइको क्षेत्रसम्म कोदोको खेती हुने गरेको छ । वर्षा कम हुने क्षेत्र र मौसममा कोदोको खेती गरिने र कम मेहनेतमा सजिलै उत्पादन हुन्छ । कम उर्वर भूमिमा पनि यो बालीले उत्पादन दिने हुँदा नेपालको पहाडी र उच्च पहाडी क्षेत्रमा मकै बालीमा खनेर वा मकै बाली थन्काएपछि पाखो जमिनमा खनजोत गरेर कोदोको खेती गर्ने गरिन्छ । नेपालमा रातो कोदो, सेतो कोदो, मुड्के कोदो, लट्टे कोदो, पौदुरे कोदो आदि विभिन्न रैथाने जातका कोदोको खेती गर्ने गरिन्छ । माटोको चिस्यान हुँदा यसको बेर्ना रोपिसकेपछि बेर्ना तङ्ग्रिएर जब आउँछ, त्यसपछि कोदोलाई खासै सिञ्चित नगरे पनि उत्पादन दिने हुँदा यसको खेती गर्न सजिलो पनि छ ।
नेपालको सन्दर्भमा पहाडी क्षेत्रमा उत्पादित कोदोमा विशेष गुण रहेको पाइन्छ । परिकार स्वादिलो हुने, कोदो बालीले रोग किरा सहन सक्ने, कम मलजल भए पनि राम्रो उत्पादन दिने भएकाले कृषक कोदो खेती गर्नुलाई सुखी मान्छन् । रैथाने जातको कोदो नै बढी रुचाउँछन् । कोदोको बोटलाई नल भनिन्छ र यो गाईबस्तुलाई हरियो घाँस वा आहारको रूपमा तत्कालै प्रयोग गर्ने गरिन्छ भने सुकाएर कुन्यु बनाई केही समयपछि पशु आहारको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । समतल तथा भिरालो जुनसुकै ठाउँमा पनि रोप्न सकिने कोदोले सहजै उत्पादन गर्न सकिन्छ । कोदो उत्पादन गरिने क्षेत्रको हिसाबले हेर्दा मुलुकको खाद्यान्न बालीको कुल क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा कोदो बालीको रहेको छ भने यसको ९५ प्रतिशत क्षेत्रफल पहाडी र उच्च पहाडी क्षेत्रमा नै रहेको छ ।
कोदो नेपालमा धान, गहुँ, मकै पछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो भने नेपालको पहाडी र उच्च पहाडी क्षेत्रमा धान, मकै पछिको मुख्य खाद्यान्न पनि हो । नेपालका पहाडी भूभागमा कोदोलाई अनिकाल टार्ने खाद्यान्नको रूपमा लिने गरिन्छ । पौष्टिकताले भरिपूर्ण कोदोलाई परम्परागत रूपमा खाद्य परिकारमा ढिडो, रोटी, पुवा तथा खोले बनाई खाने चलन रहेको छ । केही समुदायमा जाड रक्सी बनाउने तथा पशु आहारको रूपमा प्रयोग गरिने खाद्यान्नको रूपमा रहेको थियो । अझ त्यस प्रकारको परिकार आर्थिक रूपमा विपन्न परिवारले उपभोग गर्ने र धनी वर्गले कोदोजन्य परिकार खादा इज्जत नै जाला भन्ने डर समाजमा व्याप्त थियो । समयक्रममा बहुगुणयुक्त कोदोको उपभोगले मानव स्वास्थ्यमा हुने लाभको प्रचारप्रसार व्याप्त हुनुको कारण कोदोको मागमा दिनहुँ वृद्धि हुँदै गइरहेको छ । कोदोमा पाइने विभिन्न तत्व मानव शरीरका लागि अपरिहार्य रहेको छ । यस्तै नेपाली समुदायमा खाने बानीमा आएको परिवर्तनले कोदोको विभिन्न परिकार जस्तै सेल रोटी, केक, पाउरोटी, कुकिज, बिस्कुट, मःम लिटो आदि तयार गरी उपभोग गरिने प्रवृत्तिले हिजोआज यस बालीको उपभोगमा व्रmमिक वृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाउँछ ।
नेपाल, भारत, भुटान, युगान्डा, मलेसिया, चीन र जापान बढी मात्रामा कोदो उत्पादन हुने मुलुक हुन् । कोदोको उत्पादनमा कोदोको जात, बिउको अवस्था, वातावरणीय प्रभाव आदिले असर गर्छ । नेपालमा कोदोको औसत राष्ट्रिय उत्पादन १.१ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार आव २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरी तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन गरिएको थियो तर हाम्रो आफ्नो स्थानीय उत्पादनले माग धान्न नसकेपछि पछिल्ला दिनमा कोदोको आयात बढ्दै गएको पाइन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा बर्सेनि करिब ७५ करोड रुपियाँ बराबरको कोदो भारत र चीनबाट आयात हुँदै आएको छ । आव ०८०/८१ मा ७५ करोड ४४ लाख २३ हजार रुपियाँको कोदो आयात भएकोमा गत आव ०८१/८२ को ११ महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपियाँ बराबरको कोदो आयात हुन पुग्यो ।
कोदोको खाद्यतत्व तथा पोषणको आधारमा अन्य खाद्यान्न बालीको तुलनामा उच्च स्थानमा रहेको पाइन्छ । मानव स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक मानिने कोदोमा फाइबर, क्याल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, भिटामिन बि ३, एन्टी अक्सिडेन्ट, नाइँसिनलगायतका पोषण तत्व पाइन्छ, जुन मानव शरीरका लागि आवश्यक हुन्छ ।
कोदोमा रहेको नाइँसिन तत्वले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिमलाई कम गराउँछ । क्याल्सियम र फलाम प्रशस्त मात्रामा हुने हुँदा हाड बलियो बनाउनुका साथसाथै महिलामा हुने रक्तअल्पता हुने अवस्थाबाट जोगाउन मद्दत गर्छ । पोषण विज्ञहरूका अनुसार तत्वको मात्रको हिसाबले हेर्दा कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८७ गुणा बढी क्याल्सियम पाइन्छ । तसर्थ मानव शरीरलाई आवश्यक पर्ने क्याल्सियम, फलाम, प्रोटिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइने हुँदा हुर्कने उमेरका बालबालिका, गर्भवती महिला, मधुमेह तथा उच्च रक्तचापका बिरामीका लागि समेत कोदोको परिकार उपभोग गर्नु हितकारी मानिन्छ ।
नेपालको पहाडी र उच्च पहाडी भूभागमा अहिले पनि पोषणले भरिपूर्ण खाद्यान्नको रूपमा कोदोले किसान र सीमान्तकृत वर्गमा महत्वपूर्ण भूमिका खेलेको छ भने सहरी क्षेत्र बसोबास गर्ने र आर्थिक रूपमा सबल भएका वर्गमा कोदोको परिकार रोजाइमा पर्ने गरेको छ तर यस प्रकारको खाद्यान्न बालीप्रतिको हेराइ र बुझाइमा कमीले गर्दा यस बालीको उत्पादन र उपभोगमा व्यापकता हुन सकेको छैन । फलस्वरूप यसको उत्पादन, उपभोग र संरक्षणप्रति व्यापक अनुसन्धान र विकास भएको पाइँदैन ।
नेपाल सरकार तथा प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट हालै कोदो खेतीको प्रवर्धन कार्यक्रम सञ्चालनका लागि कृषक परिवारलाई अनुदान दिने गरिएको कारण तथा कोदोको बहुगुणकारी खाद्यान्न हुनुको चर्चा परिचर्चा हुनुले यो खेतीतर्फ किसान र उपभोक्ताको ध्यान आकृष्ट भएको पाइन्छ । नेपाल सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने घोषणाले यस अन्न बालीको उत्पादन र उपभोगमा झन हौसला बढ्न जाने कुरामा विश्वास गर्न सकिन्छ । थोरै लगानी र मेहनतमा बढी उत्पादन गर्न सकिने यो बालीको उत्पादन र संरक्षणका लागि अनुसन्धान, प्रचारप्रसार, जिन बैङ्कको स्थापना गरी रैथाने कोदो बालीहरूको प्रवर्धन र संरक्षण गर्नु आजको आवश्यकता रहेको छ । स्थानीय अज्ञानताका कारण कतिपय जातको कोदो हराउन सक्ने हुनाले किसान, सरकार तथा सरोकार समूह यस बालीको संरक्षण र विकासमा हातेमालो गरी अगाडि बढ्नु पर्छ ।