• १७ साउन २०८२, शनिबार

गुरु रिन्पोछेको जन्मोत्सव मनाउने तयारी

blog

पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिनुहुँदै बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । बौद्धनाथ क्षेत्र विकास समितिले यस वर्षदेखि आचार्य पद्मसम्भव (गुरु रिन्पोछे) को जन्मोत्सव मनाउने निर्णय गरेको छ । जन्मोत्सव साउन १९ गते काठमाडौंमा भव्य रुपमा मनाउने समितिले तयारी थालेको जनाएको छ । 

जन्मोत्सव कार्यक्रम गर्नेबारे समितिले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १९ गते विहान महाकाल, तीनचुली, घ्योइलिसाङ पोखरीमा पूजापाठ गर्ने कार्यक्रम रहेको समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले जानकारी दिनुभयो । 

उहाँकाअनुसार सोही दिन दिउँसो २ः३० बजे गुरु रिन्पोछे शोभायात्रा निकाल्ने, ४ बजे गुरु छेङ्गे छ्याम मनाउने, ३ः३० बजे औपचारिक कार्यक्रम गर्ने तयारी गरिएको निर्देशक तामाङले जानकारी दिनुभयो । कार्यक्रमको उदघाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेयले गर्नुहुने उहाँको भनाइ छ । 

समितिका अध्यक्ष राजकुमार लामाले मूर्त तथा अमूर्त संस्कृतिको जगेर्ना गर्न र गुरु रिन्पोछेको सम्मानका लागि पहिलो पटक उहाँको जन्मोत्सव मनाउने तयारी गरिएको बताउनुभयो । कार्यक्रम सफल पार्न विभिन्न ९ वटा उपसमिति गठन गरी तयारी थालिएको उहाँको भनाइ छ । 

सोहीअनुसार साउन २७ गते लामा गुरुहरु, बज्राचार्य गुरुहरु तथा ब्राह्मणहरुबाट महाकालको पूजा गरिने अध्यक्ष लामाले बताउनुभयो । सो अवसरमा पूजा पश्चात् महाकालको प्रतिमालाई खटमा राखी महाकालदेखि रामहिटी, तीनचुली भई बौद्ध परिक्रम गराई टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा ल्याएर समापन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । रिन्पोछेलाई दोस्रो बुद्धको रुपमा चिनिन्छ ।