• १७ साउन २०८२, शनिबार

एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो

blog

रमेश विश्वकर्मा 
गुल्मी, साउन १७ गते । 
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीमा तीन विद्यालमा परीक्षा केन्द्र तोकिएको छ । यही साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

एकाइ प्रमुख घिमिरेका अनुसार सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको हो । यस जिल्लाका १४२ विद्यालयका एक हजार १४६ जना परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । साधारणतर्फ दुई हजार ३३९ विषय र प्राविधिकतर्फ २७ विषयको परीक्षा हुने भएको छ ।

सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ७४ विद्यालयका ३८२ जनाले ७१० विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । महेन्द्र माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ३९ विद्यालयका ३७४ जनाले ७६९ र रेसुङ्गा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट २९ विद्यालयका ३९० जनाले ८८७ विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् ।

त्यस्तै, ग्रेड वृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा सहभागी हुने उहाँले बताउनुभयो । गणित विषयको ग्रेडवृद्धिका लागि ८०२ जना परीक्षार्थी सहभागी हुने छन् । विज्ञान विषयको ग्रेडवृद्धिका लागि ३५७ जना, अङ्ग्रेजी विषयको ग्रेडवृद्धिका लागि ३४७ जना परीक्षार्थी सहभागी हुने बताइएको छ ।

२३२ जना परीक्षार्थीले ऐच्छिक प्रथम विषयसँगै प्राविधि विषयको ग्रेडवृद्धि गर्ने छन् । सामाजिक विषयमा ग्रेडवृद्धिका लागि १७१ जना, ३४१ जनाले ऐच्छिक दोस्रो विषयसँगै प्राविधिक विषयको ग्रेडवृद्धि गर्ने छन् । ८९ जनाले अनिवार्य नेपाली विषयको ग्रेडवृद्धि गर्ने छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने एकाइ प्रमुख घिमिरेले बताउनुभयो ।