• १५ असार २०८२, आइतबार

उमेर होइन, विचारले दल चलाउँछः महासचिव पोखरेल

blog

नेकपा (एमाले) पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले महासचिव शङ्कर पोखरेल। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असार १४ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ठूला दल र अहिलेको व्यवस्थाप्रति वितृष्णा फैलाउने प्रयत्न भए पनि त्यो सफल नहुने बताउनुभएको छ। नेकपा (एमाले) पोखरा महानगर कमिटीले शनिबार पोखरामा मदन भण्डारीको ७४ औँ जन्म जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्ता प्रयत्न र मिडिया ट्रायल असफल बन्दै गएको उल्लेख गर्नुभयो। 

“अहिले दुई ठूला दल मिलको केहीलाई फिटिक्कै मन परेका छैन”, उहाँले भन्नुभयो, “न इतिहास छ, न भविष्य छ, त्यस्ता लोकप्रियता र अराजकताको जगमा बनेका शक्तिहरुले देशका समस्या सुल्झाउन सक्दैनन्।” उहाँले अहिले सत्तारुढ एमालेलाई चार थरी शक्तिले निरन्तर आक्रमण गरिरहेको दाबी गर्नुभयो। 

राजावादी, माओवादी, बाह्य शक्ति र अराजकतावादीले नेकपा (एमाले)को शक्तिलाई क्षय गर्न अनेक प्रयत्न गरेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “दुई ठूला पार्टी मिल्दा कहिले यता, कहिले उता मिलेर सरकारमा जानेहरुलाई मन परेको छैन। केही बाह्य शक्तिलाई पनि यो बलियो र स्थिर सरकार मन परेको छैन।” 

नेकपा (एमाले)भित्र भावी नेतृत्व र उमेर हदबारे भइरहेका बहसबारे चर्चा गर्दै उहाँले नयाँ पुस्ताले होइन, नयाँ र सक्षम नीतिले देशको कायाकल्प गर्न सक्ने बताउनुभयो। “आठ दशकमा हिँडिरहेका माहाथिर मोहम्मद, डोनाल्ड ट्रम्प देशको नेतृत्व गरिरहेका छन्,” महासचिव पोखरेलले थप्नुभयो, “यहाँ नीति, विचार, इच्छाशक्तिको कुरा छैन, नयाँ पुस्ताले मात्र देश फेर्छ भन्ने गरिएको छ। पुस्ता फेरिँदैमा देश फेरिँदैन। उमेरले होइन, विचारले दल चलाउँछ।”

नेकपा (एमाले)का पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई उहाँले विश्व कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण र क्रान्तिको सिर्जनात्मक मार्गका रुपमा व्याख्या गर्नुभयो। प्रकारान्तरले जबज अहिले समग्र नेपाली क्रान्तिको मार्गदर्शक बनेको उहाँको भनाइ छ। 

अहिलेको सरकार बनेपछि बारम्बार सरकार ढल्ने हल्ला चलाइने गरेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो। “सरकार बनेपछि हरेक दुई महिनामा सरकार ढल्ने हल्ला चलिरहेको छ, यता सरकार टिकिरहेको छ,” उहाँले भन्नुभयो, “यस खालका मिथ्या हल्लाको पछि हामी लाग्नु हुँदैन।” कार्यक्रम एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको थियो।