• १८ साउन २०८२, आइतबार

गुल्मी तेक्वान्दो डोजाङ्ग च्याम्पियन

blog

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा प्रथम गुल्मी तेक्वान्दो डोजाङ्ग । तस्बिर : गोरखापत्र

टोपलाल अर्याल

रेसुङ्गा, साउन १८ गते । गुल्मी तेक्वान्दो डोजाङ्गको आयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक गुल्मी तेक्वान्दो डोजाङ्गले जितेको छ । 

जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्डहलमा सञ्चालन भएको प्रतियोगितामा पाँच समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा गुल्मी तेक्वान्दो डोजाङ्ग प्रथम, इस्मा डोजाङ्ग दोस्रो र बर्दघाट तेक्वान्दो डोजाङ्ग तेस्रो भएको प्रतियोगीताको सहआयोजकको रुपमा इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष दीपक जिसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र ११ र छात्रा ११ तौल समूहमा फाइट र एकल पुङसे भएको थियो । जिल्लामा सदरमुकाम बाहिर गाउँहरुमा पनि तेक्वान्दो खेलको आकर्षण बढ्दै जान थालेको छ । जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका तथा इस्मा र मालिका गाउँपालिकामा तेक्वान्दो डोजाङ्गमार्फत प्रशिक्षणहरु सञ्चालन भएका छन् । 

जोखिमपूर्ण खेलको रुपमा हेरिने तेक्वान्दोलाई अहिले विभिन्न ठाउँहरुमा सौहार्दपूर्ण रुपमा सञ्चालन गरिएको तेक्वान्दो खेलका प्रशिक्षक रहनुभएका इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष जिसीले बताउनुभयो । यो जिल्लास्तरीय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको थियो । 

तीन वर्ष पहिले इस्मा तेक्वान्दो डोजाङ्गले प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कार प्रदान गरिएको गुल्मी तेक्वान्दो डोजाङ्गका अध्यक्ष गिरीप्रसाद महाकिमले जानकारी दिनुभयो ।

यो तेक्वान्दो प्रतियोगिता २०५४ सालबाटै जिल्लामा खेल्न थालिएको थियो । तर २०६५ सालबाट सङ्गठित गरेर अगाडि बढेको मुख्य आयोजक गुल्मी तेक्वान्दो डोजाङ्गका अध्यक्ष महाकिमले बताउनुभयो । 

राष्ट्रपति रनिङ्ग शिल्डमार्फत विद्यालयस्तरीय खेल बन्दै गएको छ । जिल्लाबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएर दीपा पुनले स्वर्ण र दीपेन्द्र चुँदाराले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै प्रदेशस्तरीय खेलमा प्रकाश खासु सहभागी भएर उत्कृष्टता प्रदर्शन गरेको महाकिमले बताउनुभयो ।