नयाँदिल्ली, जेठ १ गते । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ । ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।
अनुसन्धान एजेन्सीले अभियुक्तलाई अल-कायदा प्रेरित समूहसँग सम्बन्धित रहेको दाबी गरेको छ । गत वर्ष नोभेम्बर १० मा दिल्लीको पुरानो क्षेत्रमा अत्यधिक भीडभाड हुने मेट्रो स्टेसन नजिक विस्फोट भएको थियो । राजधानीको संवेदनशील तथा पर्यटकीय क्षेत्रमै भएको विस्फोटले देशभर सुरक्षा चिन्ता बढाएको थियो ।
एनआईएका अनुसार घटनामा संलग्न भनिएका १० जनामध्ये एक जना कथित कार चालक मेडिकल डाक्टर उमर उन नबी पनि रहेका छन्, जो विस्फोटमै मारिएका थिए । जलेको अवस्थामा फेला परेको शवलाई डीएनए परीक्षणमार्फत पहिचान गरिएको अनुसन्धानकर्ताले बताएका छन् । अधिकारीका अनुसार नबीको मृत्यु भइसकेकाले उनीविरुद्धको मुद्दा स्वतः खारेज हुनेछ ।
बाँकी नौ जना भने अहिले हिरासतमा रहेका छन् । एनआईएले चार भारतीय राज्य तथा भारत प्रशासित काश्मीर क्षेत्रमा महिनौँसम्म अनुसन्धान गरेपछि बिहीबार नयाँदिल्लीस्थित अदालतमा सात हजार ५०० पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो । एजेन्सीले जारी गरेको वक्तव्यमा मुख्य अभियुक्त डा.उमर उन नबीसहित सबै १० जना ‘अन्सार गजवत-उल-हिन्द’ नामक समूहसँग आबद्ध रहेको दाबी गरिएको छ ।
उक्त समूहलाई भारतीय उपमहाद्वीपमा सक्रिय अल-कायदाको शाखा ‘अल-कायदा इन द इन्डियन सबकन्टिनेन्ट’ (एक्युआइएस) सँग जोडिएको बताइएको छ । विस्फोटमा मृत्यु हुनेको सङ्ख्याबारे सुरुआती चरणमा केही अन्योल देखिएको थियो । अस्पताल स्रोतले १२ जनाको मृत्यु भएको बताएका थिए भने आधिकारिकरूपमा ११ जनाको मृत्यु पुष्टि गरिएको छ ।
एनआईएका अनुसार अभियुक्त अवैधरूपमा प्रतिबन्धित हतियार खरिदमा समेत संलग्न थिए । उनीहरूले एसल्ट राइफल जस्ता हतियार सङ्कलन गरेको र सुरक्षा निकायलाई लक्षित गरी रकेट तथा ड्रोनमार्फत इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) प्रयोग गर्ने योजना बनाएको आरोप लगाइएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीले आरोपित मध्ये केही ‘कट्टरपन्थी सोचबाट प्रभावित चिकित्सा व्यवसायी’ रहेको बताएका छन् । आरोप पत्रअनुसार कम्तीमा पाँच जना डाक्टर रहेका छन्, जसमा धेरैजसो काश्मीर क्षेत्रका हुन् । रासस/एएफपी