चन्द्र पन्दाक
ताप्लेजुङ, असार १४ गते। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङबाट सामेल भएका आधाभन्दा न्युन परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार एसइईमा सामेल (सहभागी) भएका आधाभन्दा न्युन उत्तीर्ण भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले २०८१ को एसइईमा सहभागी भएकामध्ये आधाभन्दा कम अर्थात ४५.९३ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका जनाएको छ। इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार साधारण र प्राविधिकधार दुवै गरी ७९१ जना मात्र विद्यार्थी एसइईमा उत्तीर्ण भएका छन्। साधारणतर्फ एसइईमा एक हजार ४१५ जना सहभागी भएकामा ६५० जना मात्र उत्तीर्ण भएका इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार प्राविधिक धारतर्फ परीक्षामा सहभागी १२२ मध्ये ९१ जना उत्तीर्ण भएका छन्। साधारणतर्फ ७६५ जना र प्राविधिकधारका ३१ जना असफल अर्थात अनुत्तीर्ण भएएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। त्यस्तै ताप्लेजुङबाट ग्रेडवृद्धितर्फ साधारण र प्राविधिकधार गरी ७३५ जना परीक्षामा सहभागी भएका, तर उनीहरुको नतिजाबारे भने समन्वय इकाइलाई जानकारी नहुने इकाइ प्रमुख भट्टराईले बताउनुभयो।
यता यसवर्षको एसइईमा जिल्लाबाट सर्वोत्कृष्ट नतिजा ल्याउनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङस्थित साङक देछ्योलिङ गोन्पा विद्यालयका लाके शेर्पा (३.९१ जिपिए) हुनसक्ने इकाइ प्रमुख भट्टराईको भनाइ छ। यद्यपि, एसइई नतिजाको जिपिए अवस्थासहितको नतिजा विवरणबारे आइतबार सम्ममा मात्र यकिन हुने उहाँले बताउनुभयो।
गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले भने एसइई नजितामा ३.९१ जिपिए प्राप्त गर्ने शेर्पा र सोही विद्यालयका ३.८६ जिपिए प्राप्त गर्ने प्रितम गुरुङ जिल्लाकै सबोत्कृष्ट प्रथम र दोस्रो भएको दावी गर्नुभएको छ। प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भएका ११ जना विद्यार्थीमध्ये सात जना ‘ए प्लस’, तीन जना ‘ए’ र एकजना ‘बि प्लस’ जिपिए ल्याउँदै शतप्रतिशत उत्तीर्ण भएका छन्। जिल्लामा रहेको सामुदायिक ६४ र संस्थागत छ गरी ७० वटा माध्यमिक तहका विद्यालयबाट परीक्षार्थीले एसइई दिएका थिए।