• १४ असार २०८२, शनिबार

एसइई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय इकाई राख्ने सहमति

blog

काठमाडौँ, असार १४ गते । अब माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसइई यथावत राख्दै प्रदेश स्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो ।

संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा नराख्ने गरी प्रतिवेदन बुझाएको भए पनि शनिवारको समितिको बैठकले यस्तो सहमति जुटाएको हो । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारको तर्फबाट यस्तो प्रस्ताव अघि सार्नुभएको थियो । मन्त्री पन्तले कुनै पनि तहले कुनै न कुनै परीक्षा लिइरहेकै कारण संविधानको भावनाअनुरूप एसइई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले विद्यालय शिक्षाको गुणस्तर उकास्नका लागि पनि एसइई परीक्षा प्रदेश स्तरलाई सञ्चालन दिनुपर्ने बताउनु भयो । 

उक्त विधेयक पारित भएपछि एसइई परीक्षा राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू गर्ने सहमति भएको हो । शनिवारको समितिको बैठकले जिल्लामा शिक्षा समन्वय इकाई राख्ने पनि सहमति गरेको छ । संविधानको मर्म विपरित नजाने गरी जिल्लामा शिक्षा समन्वय इकाई राख्ने समिति सभापति अम्मरबहादुर थापाले राख्नुभएको प्रस्तावमा सांसदहरूले टेबल बजाएर सहमति जनाए । 

विद्यालय शिक्षा विधेयकलाई समितिले पारित गरेपछि संसद्मा पठाउनेछ । सांसदबाट पारित भएपछि सहमति भएको व्यवस्थाहरू कार्यान्वयनमा जानेछन् । विधेयकलाई अन्तिम रूप दिने गरी समितिको अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।