गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १२ गते । चलचित्र ‘जार’ को ‘ए ठुली’ बोलको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको रहेको छ । सङ्गीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतीक्षालाई देखाएको छ । वैशाख २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापालगायत कलाकारको अभिनय रहेको छ । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।
चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमारिन्जिङ लेप्चा रहनुभएको छ । सरवान इलावार्सुको छायाङ्कन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।