गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १२ गते । उपभोक्ता अदालतमा हालसम्म छ वटा उजुरी दर्ता भएकोमा एउटाको मेलमिलाप भएको छ । सो अदालतका स्रेस्तेदार शोभाकर खरेलले अदालतमा दर्ता भएका उजुरीमध्ये सवारीसाधनको मर्मतमा भएको लापर्बाहीको क्षतिपूर्ति दाबीसहित परेको उजुरीको मेलमिलाप गराइसकेको जानकारी दिनुभएको हो । विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को अवसर पारेर गत चैत २ गते उपभोक्ता अदालतको गठन भएको गरिएको थियो ।
ललितपुर–१८, सिद्धिविनायक कोलनी बस्ने रामसागर यादवले २०८० माघ ७ मा खरिद गरेको सुजुकी ग्रान्ड भिटारा कार असोजको बाढीले डुबान पारी बिगारेको र मर्मत गर्न दिएको पाँच महिनासम्म पनि सिजी मोटोकर्पबाट कार पाउन नसकेको उजुरी दर्ता गर्नुभएको थियो । उहाँले विभिन्न बहाना बनाएर कार मर्मत नगरेको र नयाँ कारसमेत नदिएकाले खरिद मूल्य ६२ लाख ६९ हजार रुपियाँ फिर्ता मागदाबी गर्दै सिजी मोटो कर्पविरुद्धमा उजुरी दिनुभएको थियो ।
उक्त उजुरीका विषयमा सो सवारीसाधन विक्रेता र खरिदकर्ताबिच लेनदेनमा कारोबार मिल्ने सहमति भएपछि मेलमिलापबाट उजुरीको टुङ्गो लगाइएको स्रेस्तेदार खरेलले जानकारी दिनुभयो । अदालतमा आएका अधिकांश उजुरी क्षतिपूर्ति दाबीसम्बन्धी भएकाले मेलमिलापमा टुङ्ग्याउनुपर्ने देखिएको पनि उहाँले जानकारी दिनुभयो ।
स्रेस्तेदार खरेलका अनुसार दर्ता भएका उजुरीमा अस्पतालको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको, खाद्यवस्तु गुणस्तर नभएको, सवारीसाधनको मर्मतमा लापर्बाही भएको, चाँदीको मूर्ति खरिदमा ठगी भएकोलगायतका क्षतिपूर्ति मागदाबीका छन् । यस्तै चाँदीको मूर्ति खरिद गर्दा ठगिएको महसुस गरेपछि ललितपुर गोदावरी नगरपालिकामा बस्ने एक उपभोक्ताले साताभित्रै फिर्ता गर्न जाँदा विक्रेताले आधा मात्रै रकम दिएको उजुरी दर्ता भएको छ ।
निज उपभोक्ताले विशाल बजारको स्वस्तिक सिल्भर प्यालेसबाट २५ फागुनमा १.१ तोलाको चाँदीको मूर्ति चार हजार छ सय रुपियाँमा खरिद गरेको तर प्रचलित बजार मूल्यभन्दा बढी दर लिएको आशङ्कामा चैत १ गते फिर्ता गर्न लैजाँदा आधा रकम काटेर दुई हजार २२५ रुपियाँ मात्रै दिएको उजुरीमा उल्लेख छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा साताभित्रै वस्तु फिर्ता गर्न खोजे विक्रेताले लिनुपर्ने, अन्यथा उपभोक्ताले क्षतिपूर्ति दाबी गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार कुल ३५ हजार सात सय क्षतिपूर्ति दाबी गर्दै ललितपुरका उपभोक्ताले उजुरी दिनुभएको हो ।
त्यस्तै काठमाडौँ–१३ मा अर्का उपभोक्ताले चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको चिकित्सकीय लापर्बाहीले पिताको मृत्यु भएको भन्दै पाँच करोड क्षतिपूर्ति दाबी गर्दै उजुरी दर्ता भएको छ । ओम अस्पतालले समयमै उपचार नगर्दा आफनो पिताको मृत्यु भएको भन्दै निजका छोराले उपभोक्ता अदालतमा ओम अस्पतालविरुद्ध उजुरी दर्ता गर्नुभएको हो ।
उपभोक्ता अदालतका स्रेस्तेदार खरेलका अनुसार मुद्दा दर्तापछि सात दिनको म्याद तामेल हुन्छ भने कानुनी व्यवस्था अनुसार सात दिनपछि १५ दिनसम्म म्याद थमाउन सकिन्छ । “यी सबै प्रक्रिया २१ दिनसम्म हुन्छ । त्यसपछि छोटो समयका लागि मेलमिलाप गर्न पठाइन्छ । मिलेन भने पेसी चढाइन्छ, इजलासमा पेस हुन्छ,” खरेलले भन्नुभयो, “केही थप बुझ्नुपर्ने विज्ञको रायसुझावको आदेश हुन्छ । त्यसपछि मुद्दा अन्तिम चरणमा जान्छ, छिटोभन्दा छिटो टुङ्गोमा लाग्छ ।”
पहिलो चरणमा काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाका लागि उपभोक्ता अदालत गठन भए पनि अन्य जिल्लाका हकमा जिल्ला अदालतमा दायर गर्न सकिने उहाँले बताउनुभयो । उपभोक्ता अदालतले सर्वसाधारण, व्यापारीसँगै सरकारी निकायलाई पनि सचेत बनाउने खरेलको भनाइ छ । उपभोक्ता अदालत गठन भएपछि कानुन व्यवसायीले कुनै शुल्क नलिई निःशुल्क सेवा दिने जनाएका छन् ।