भक्तपुर, वैशाख ११ गते । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावतले हामीले प्राप्त गरेको जीवन अत्यन्तै दुर्लभ भएको बताउनुभएको छ । बिहीबार भक्तपुरको सिपाडोललमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
रावतले भन्नुभयो, “हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीन वटा कुरा सबैका लागि समान छन्, पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।’’
व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँको भनाइ छ ।
आत्मज्ञान प्रचार संघले आयोजना गरेको सो कार्यक्रममा हजारौँ स्रोताहरुको सहभागी रहेको थियो ।
११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रूपन्देहीमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको थियो । वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा एक लाखभन्दा बढी स्रोतालाई सम्बोधन गर्नुभएको थियो ।