• १३ असोज २०८१, आइतबार

भैरहवाबाट साताको तीन उडान गर्ने

blog

मीनराज भण्डारी

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल वायुसेवा निगमले आगामी पुस ४ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निगमले हप्ताको तीन दिन भैरहवाबाट दोहा र क्वालालम्पुर उडान गर्ने भएको हो। निगमले भैरहवाबाट उडान सुरु गरेसँगै सोही दिनदेखि यसअघि काठमाडौँबाट विभिन्न  गन्तव्यमा कटौती भएका उडानसमेत फुकुवा हुने भएका छन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमको जहाजले काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ हप्तामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ हप्ताको एक दिन उडान गर्ने जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “हिउँदे उडान तालिकाअनुसार निगमको भैरहवाबाट उडान तालिका स्वीकृत भएको छ। भैरहवामा निगमको १५७ सिट क्षमताको एयरबस ए–३२० (न्यारोबडी) र २७४ सिट क्षमताको एयरबस ए–३३० (वाइडबडी)बाट उडान गर्नेछ।”

दोहाको उडान हरेक आइतबार र मङ्गलबार हुनेछ भने क्वालालम्पुरको उडान हरेक बिहीबार हुनेछ। निगमले भैरहवामा उडान सुरु गरेपछि भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ)समेत पाउनेछ। २०७७ सालमा भएको बोर्डको निर्णयानुसार सोको जिम्मेवारी दिइएको हो। 

यसअघि निगमले भैरहवामा यात्रु अभाव देखाउँदै अन्तर्राष्ट्रिय उडान भर्न चासो नदेखाएपछि प्राधिकरणले निगमको काठमाडौँ–दिल्ली उडान साताको चार, काठमाडौँ–दोहा साताको दुई, काठमाडौँ–क्वालालम्पुर साताको दुई, काठमाडौँ–दुबई साताको दुई उडान कटौती गरेको थियो तर निगमको भैरहवा उडान निश्चित भएपछि पुस ४ गतेदेखि काठमाडौँ–दिल्ली साताको १४ उडान, काठमाडौँ–दोहा दैनिक एक, काठमाडौँ–क्वालालम्पुर दैनिक एक र काठमाडौँ–दुबई पुनः दैनिक एक उडान हुने भएको हो।

प्राधिकरणले हिउँदे उडान तालिकामा भैरहवामा बाध्यकारी उडान तालिका ल्याएपछि निजी क्षेत्रको हिमालय एयरलायन्सले कात्तिक १७ गतेदेखि भैरहवा–मलेसिया चार्टर उडान गर्दै आएको छ।

हिमालयले भैरहवाबाट चार्टर उडान सुरु गरेसँगै उसको काठमाडौँबाट कटौती भएका उडान यसअघि नै फुकुवा भइसकेका छन्। भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुवेतको जजिरा एयरवेजले १६२ यात्रु क्षमता भएको न्यारोबडी उडाउँदै आइरहेको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी उडान गर्न भैरहवाबाट कम्तीमा एउटा उडान गर्नैपर्ने नियम बनाएको छ। उक्त नियम सन् २०२३ जनवरीदेखि विदेशी हवाई कम्पनीमा समेत लागू गर्ने प्राधिकरणको तयारी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक व्यवस्थापन गर्न र भैरहवा विमानस्थलको व्यापार बढाउने उद्देश्यले यो नियम ल्याएको प्राधिकरणले जनाएको छ।