दार्चुलामा प्रत्यक्ष र सामानुपातिक तर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।
चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन भएको छ ।
बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले २० हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपश्चात आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
ताप्लेजुङमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा करिब चार प्रतिशत मत बदर भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्र अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिट्टै शुभारम्भ हुने बताउनुभएको छ ।
समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको हो । नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ ।
मोरङको सुन्दरहरैंचा –११ कर्जुनामा रहेको सुवर्ण फर्मासुटिकल्सको भवन भूत बङ्गलामा परिणत भएको छ । धरानमा तत्कालिन सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि सुवर्ण शम्शेर राणाको नाममा औषधि उद्योग स्थापना गर्न २०५५ मा सुवर्ण फर्मासिटिकल्सको भवन शिलान्यास गरिएको थियो ।
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
रौतहट निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी हुनुभएको छ । साहले ३२ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
बाँकेका किसानले उत्पादन गरेको धान बर्सेनी सरकारले तोकेको मूल्यमा खरिद गर्दैआएको भए पनि नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरू समस्यामा परेका छन् ।
भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता हुनुभएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता हुनुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका –१ र बागलुङ नगरपालिका जोड्ने लामो झोलुङ्गे पुल तयार भएको छ । पुल तयार भएसँगै पुल अवलोकन गर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।
गायन रियालिटी शो 'द भ्वाइस' को अमेरिकी संस्करणमा परिजिता बाँस्तोला टप आठमा प्रवेश गर्नुभएको छ ।
तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ ।