• १३ असोज २०८१, आइतबार

म्याग्दी र बागलुङ जोड्ने लामो झोलुङ्गे पुल तयार

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १४ गते । म्याग्दीको बेनी नगरपालिका –१ र बागलुङ नगरपालिका जोड्ने लामो झोलुङ्गे पुल तयार भएको छ । पुल तयार भएसँगै पुल अवलोकन गर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । 

एक वर्षअघि बेनी नगरपालिका –१, रत्नेचौरदेखि बागलुङ नगरपालिका –४, कुँडुले जोड्न डोढेनी खोलाको खोँचमा जिल्लाकै अग्लो र लामो पुल निर्माण थालिएको थियो । मङ्सिरको पहिलो हप्ता निर्माण सकिएको पुलमा पर्यटकको भीड लाग्न थालेको स्थानीयको भनाइ छ । 

तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाएको छ । आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । ‘पुल बनेपछि धेरै सहज भएको छ, ‘डेढ घण्टाको यात्रा १० मिनेटमा छोटिएको छ, यहाँको पर्यटन विकासमा पनि टेवा मिल्ने विश्वास गरेका छौं ।’ 

पुल बनेपछि दुई जिल्लाको सम्बन्धलाई झन् सुमधुर बनाउना दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कोसेढुङ्गा सावित भएको स्थानीयवासीको भनाइ छ । म्याग्दीका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाको पहलमा थानी हिमशिखर जेभीले तीन करोड ५० लाख रुपियाँको लागतमा पुल निर्माण भएको बेनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।  

पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालय लगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न बालबालिका बागलुङ बजारका विद्यालयमा जान सहज भएको पूर्व वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । पुल बनेसँगै रत्नचौरमा सिजनमा तोरीबारी, खेलकुद तथा घुम्न आउनेलाई सहज भएको उहाँले बताउनुभयो । 

पुल निर्माण गर्नका लागि बानपा –४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने डोढेनी खोलाको खोँचमा पुल बनेपछि स्थानीयहरु उत्साहित भएका छन् ।