सिराज खान
नेपालगन्ज, वैशाख ९ गते । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा २१ वर्षपछि पुनस्थापना भएको इलाका प्रशासन कार्यालयले गत नौ महिनामा एक हजार १५१ जनालाई नागरिकता वितरण गरेको छ ।
गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकता बनाउन सहज भएको हुँदा नौ महिनामा सो क्षेत्रका एक हजार बढीले सहज रूपमा नागरिकता पाएको इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख माधव सिंहले बताउनुभयो ।
स्थानीय बासिन्दाको लामो समयदेखिको मागपछि नरैनापुरमा गत साउन ४ गते इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । सो कार्यालय स्थापना भएपछि नागरिकता लगायत साना साना प्रशासनिक कामका लागि पनि ४५ किलोमिटर टाढा नेपालगन्ज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य भएको थियो ।
इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख सिंहले इलाका प्रशासन स्थापना भए देखि चैत महिनासम्म वंशज नागरिकता ८००, वैवाहिक अङ्गीकृत नागरिकता २७०, जन्मका आधारमा २१ वटा र नागरिकता प्रतिलिपि ६० जनालाई वितरण गरिएको जानकारी दिनुभयो । सो क्षेत्रमा विद्युत् नियमित नहुँदा नागरिकता वितरणमा समस्या आउने गरेको बताउँदै उहाँले पालिकासँग जेनरेटरको व्यवस्था गरिदिन माग गरेको बताउनुभयो ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकता लिन निकै सहज भएको स्थानीयले जनाएका छन् । रैनापुर ४ का १८ वर्षीय मोहम्मद हासिल खाँले आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको जनाउँदै पहिला नागरिकता बनाउन नेपालगन्ज जानुपर्ने बाध्यता रहेकोले समय र पैसा दुवै धेरै खर्च हुने गरेकोमा अब सरल र सहज भएको बताउनुभयो ।
यस्तै नरैनापुर २ रोशनपुर्वाका आरिफ खाँले इलाका प्रशासन स्थापनाले जनतालाई ठुलो राहत भएको बताउँदै पहिला नागरिकता बनाउन नेपालगन्ज जाँदा कम्तीमा पनि दुई हजार रुपियाँ खर्च हुने गरेको थियो तर अहिले यही नागरिकता बन्न सुरु भए देखि पैसा र समय दुबैको बचत भएको बताउनुभयो ।
विसं २०४७ सालमा स्थापना भएको उक्त इलाका प्रशासन तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले लामो सङ्घर्षपछि यो कार्यालय स्थापना हुँदा दुर्गम क्षेत्रका रूपमा चिनिएको नरैनापुर गाउँपालिकाका सेवाग्राहीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘इलाका प्रशासन कार्यालयबाट हुने काम कारबाहीलाई केन्द्रीय सरकारको प्रत्यक्ष रूपमा उपस्थिति रहेको मैले महसुस गरेको छु, गाउँगाउँमा सिंहदरबार भनेको नै यही हो ।’ ३४ हजार ९४२ जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन स्थापना भएपछि नागरिकहरूलाई ठुलो राहतको अनुभूति भएको गाउँपालिकाले जनाएको छ ।