मुस्ताङ, असार ३१ गते । यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सब इन्जिनियर राजन कँडेलले जानकारी दिनुभयो ।
सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१, छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आसबहादुर थकालीले उल्लेख गर्नुभयो । रासस