• ३१ असार २०८२, मङ्गलबार

सिँचाइ आयोजनाबाट पानी आएपछि कृषक उत्साहित

blog

बागलुङ नगरपालिका–१३, बलेवाको दम्कफाँट । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार ३१ गते । अन्न भण्डारको रूपमा परिचित बागलुङ नगरपालिका –१३, बलेवाको दम्कफाँटमा लिफ्ट सिँचाइ आयोजनाबाट पानी आउन थालेपछि किसान उत्साहित भएका छन् । 

दम्कफाँटमा कालीगण्डकी नदीको पानी लिफ्ट गरेर सिँचाइ गर्ने आयोजनाको काम चलिरहेको छ । झण्डै चारसय किसानको खेत रहेको दम्कफाँटमा लामो प्रयासबाट पानी आइपुगेपछि धान रोप्न पाउने आशा पलाएको दम्कफाँट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । 

आयोजना समयमै नसकिँदा यो वर्ष पर्याप्त सिँचाइ सुविधा नपुगेको क्षेत्रीको भनाइ छ । सिँचाइ अभावमा खेत बाँझै छाडेकाहरूमा अब रोप्न पाइने आशा जागेको क्षेत्रीले बताउनुभयो । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत २०८० सालमा आयोजनाको काम सुरु भएको थियो । कालीगण्डकी नदीमा समवेल बनाएर ४ वटा पाइपबाट हरेक दिन तीन घण्टाको दरले पानी तान्ने योजनाअनुसार काम भइरहेको छ । 

तीन करोड लागतको आयोजनामा पपैया बिएससी संयुक्त निर्माण कम्पनीले झण्डै आधा रकम कम मूल्यमा ठेक्का लिएपछि आयोजना पूरा नभएको हो । 

गत हिउँदमै सकिनुपर्ने काम अधुरो हुँदा तत्कालको सिँचाइका लागि स्थानीयले श्रमदान गरेर काम चलाएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । 

क्षेत्रीका अनुसार, ३२ लाख रुपियाँ बराबरको प्राविधिक काम उपभोक्ताले गरेका छन् । पर्याप्त सिँचाइको सुविधा भएमा दम्कफाँटमा १७ हजार मुरी धान फल्ने क्षेत्रीले जानकारी दिनुभयो । 

पहिलो चरणमा यो आयोजनाबाट २१ हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ । त्यसपछि बढाएर लैजाने समितिका अध्यक्ष क्षेत्रीले बताउनुभयो । हाल कालीगण्डकी नदीमा ४५ फिटको समवेल बनिसकेको छ । त्यस बाहेक ४ सय ८५ मिटर उचाइमा पानी पठाएर कालीढुङ्गामा ८५ हजार घनलिटरको स्टेप ट्याङ्की बनेको छ । 

उक्त पानीलाई पैयुपाटा लगेपछि वितरण ट्याङ्कीमार्फत दम्कको फाँटमा ७५ ओटा गेटबलमार्फत १० मुख्य र १ सय ३१ वटा साना मुहान बनाउनुपर्ने छ ।

अहिलेसम्म मूल ट्याङ्कीमा पानी पुगेको छ । दम्कफाँटमा व्यवस्थित पानी वितरणका लागि पाइपलाइन बिछ्याउने काम बाँकी छ । 

दुई पटक म्याद थपेर ठेकेदार कम्पनीले आगामी चैत मसान्तभित्र काम सक्ने लक्ष्य राखेको छ । आयोजनाका इन्जिनियर विशाल थापाले आयोजनाको मुख्य भाग सम्पन्न भएकाले साना काम छिट्टै सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो ।