कविराज घिमिरे
हिले, असार ३१ गते । पहिले बर्खा लागेसँगै गाउँ–गाउँमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरीका मान्छे भेला भई रोपाइँसँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । भकारी बाँध्ने चलन थियो । असारे भाका गुन्जन्थे ।
अहिले रोपाइँमा पहिलेजस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइँदैन । रोपाइ गर्दा गाइने असारे भाका सुन्न पाइँदैन । भकारी बाँध्ने चलन हराउँदै गएको छ ।
रोपाइमा बाजा बजाउने परम्परा लोप भइसकेको छ । पुराना पुस्ताले बर्खामा धान रोप्दा गरिँदैआएका यी परम्परा अहिले बिरानो बन्दैगएका छन् । करिब २०४० सालसम्म गाउँघरमा प्रचलनमा रहेका यी परम्परा अहिले लोप हुँदै गएका छन् । साँगुरीगढी गाउँपालिका वडा ३ का स्थानीय कृष्णगोविन्द ढुङ्गानाको भनाइ छ ।
“त्यो समयसम्म यो परम्परा धेरै पाइन्थ्यो, त्यसपछि क्रमशः घट्दै गयो अहिले परम्परा नै लोप भयो” ढुङ्गानाले भन्नुभयो । एकआपसमा सहयोग र सद्भाव बढ्ने उद्देश्यसहित पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बिउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि धान रोपाइ सुरु हुने गरेको साँगुरीगढी-३ का झप्टमान अधिकारीको भनाइ छ ।
मानव जीवन र हिलो माटोबिचको सम्बन्धको प्रतीकसमेत बन्दैआएको किसानले माटोको टीका लगाइ बाजा बजाउने तथा सबैले आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको अधिकारीले बताउनुभयो ।