• ३१ असार २०८२, मङ्गलबार

अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या

blog

सलिम मियाँ

बिजुवार, असार ३१ गते । प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् । 

हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिनुभयो ।

घटना मङ्गलबार बिहान १० बजेर १० मिनेटतिर भएको हो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न जानुभएको थियो । डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाउनुभएको थियो । घरभित्र पुगेपछि उनले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

“मैले कराएँ, नहान्नु भनें, तर सुनेन । आँखै अगाडि छुरा प्रहार गरेर मारे । हारगुहार गर्दा पनि केही उपाय लागेन” डिला परियारले भन्नुभयो । इजरायलमा रोजगाररत लिलबहादुर असार २४ गते घर फर्केका थिए । 

रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेको स्थानीयले बताएका छन् । दीपक १५ दिनअघि कामको सिलसिलामा सङ्खुवासभा जानुभएको थियो । रुक्मणीका लिलबहादुरसँग एक छोरा र एक छोरी नाबालक सन्तान छन् । आमाको हत्या र बुबाको गिरफ्तारीसँगै सन्तानको बिचल्ली भएको छ । 

घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोलीले लिलबहादुरलाई नियन्त्रणमा लिएको डीएसपी  बस्यालले जानकारी दिनुभयो ।

“घटनास्थल सुरक्षित गरिएको छ । अभियुक्त प्रहरी नियन्त्रणमा छन्” डीएसपी बस्यालले भन्नुभयो, “प्रारम्भिक अनुसन्धान अनुसार यो पूर्व वैवाहिक रिसइवीको कारणले भएको हत्या हो, भन्ने देखिन्छ ।” हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।