काठमाडौँ, असार ३१ गते । प्रेस काउन्सिल नेपालले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन डेक्स मिडियाकर्मीसँग समाधानमुखी पत्रकारिता विषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ । मङ्गलबार गरेको गोष्ठीमा पत्रकारितालाई सही बाटोमा हिँडाउन प्रश्नसँगै समाधानका विकल्पमा बहस तथा छलफल भएको हो ।
नेपाली मिडियामा समाधान पत्रकारिताबारे वहस चलाउने प्रकृतिका लेख प्रकाशित भए पनि पर्याप्त नभएको सहजकर्ता टुमराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको अभ्यास त पहिलेदेखि भएको छ तर, थोरै मात्रामा । तेस्रो अर्टिकल लेख्ने मौका मैले पाएको थिएँ, जुन प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको छ ।” रचनात्मक र समाधानमुखी पत्रकारिताको अभ्यासबारे छलफल गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय रचनात्मक तथा समाधानमुखी पत्रकारिताको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपालले सक्दो सहकार्य गरिरहेको र अगामी दिनमा पनि मिडिया हाउसमै गएर भए पनि यस्ता कार्यक्रम तथा अभ्यास गर्न सकिने काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताउनुभयो । युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियाले समाधानमुखी पत्रकारितालाई टिक्न दिने नदिने विषय अहिले गम्भीर रहेको भन्दै कार्यक्रमका सहभागीले गरेको प्रश्नमा समेत बहस तथा छलफल गरिएको थियो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालले सामाजिक सञ्जाल र मिडियालाई जिम्मेवार बनाउन सके त्यसबाट प्रयोगकर्ता लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ एक पटक मलाई एक जनाको फोन आयो, कुनै विषयमा बार्गेनिङ गर्न, मैले भने तपाई गलत मान्छेलाई फोन गर्नुभयो । त्यसको एक दुई दिनमा त्यसको मिडियामा विज्ञापन आयो ।” यस्ता समस्याहरू मिडियामा रहेकाले समाधानमुखी पत्रकारिता आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।