यदुप्रसाद भट्ट
मनाङ, जेठ ४ गते । विश्वकै चर्चितमध्ये पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग पछिल्ला वर्षमा सडक विस्तारसँगै सङ्कटमा पर्न थालेको छ ।
परम्परागत पदमार्ग मासिँदै जाँदा पर्यटकले अपेक्षित पदयात्राको अनुभव लिन नपाएको गुनासो बढेको छ भने स्थानीय पर्यटन व्यवसाय पनि प्रभावित बनेको छ ।
बेँसीसहर–चामे सडक खण्ड निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सडक स्तरोन्नति पूरा हुन सकेको छैन । वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा कष्टकर बन्दै गएको छ । सडक र पदमार्ग एउटै भएपछि पैदल यात्रु तथा सवारी साधनबीच जोखिमसमेत बढेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
‘‘मनाङ ङिस्याङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्यटकका लागि वैकल्पिक पदमार्ग बनाएको छ । यहाँ समस्या छैन, उहाँले भन्नुभयो, ‘‘तर समग्र पर्यटकलाई सुविधा दिने हो भने सबै पालिकाले वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्छ । उहाँका अनुसार लमजुङको बेँसीसहरदेखि नै वैकल्पिक पदमार्ग निर्माण गरियो भने मात्रै समस्याको समाधान हुन्छ । माथि तल्लो मनाङले मात्रै गरेर हुँदैन ।’’
डुम्रे–बेँसीसहर–चामे सडक जम्मा ६१ किलोमिटर लम्बाइ छ । बेँसीसहरदेखि खुदीसम्मको ८ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ । ६ वर्ष अघिदेखि सुरु भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले गति नलिँदा पर्यटकले वर्षामा हिलो र पहिरो तथा हिउँदमा धुलोले गर्दा सास्ती बेहोर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘‘मनाङ खण्डका कालोपत्रेको कामै सुरु भएको छैन, पर्यटक बेँसीसहरबाटै वैकल्पिक पदमार्ग नहुँदा सास्ती खेप्न बाध्य छन्’’, अध्यक्ष गुरुङले भन्नुभयो ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले साढे दुई वर्षदेखि सो खण्डको काम रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य राकिएको छ । पास भएको छैन, जसले गर्दा सडकको काम हुन सकेको छैन ।’’
सामुदायिक वन क्षेत्र, एक्याप आदिबाट पनि अनुमति लिएर मात्र सडकको काम गर्नुपर्ने हुनाले अझै केही वर्ष बेँसीसहर–चामे सडकमा पर्यटकले धुलो र हिलोको सास्ती खेप्नुपर्ने विष्टले बताउनुभयो ।
पहिले विदेशी पर्यटकहरू हरियाली वन, हिमाली बस्ती र गुरुङ संस्कृतिको अवलोकन गर्दै करिब २१ दिन लगाएर अन्नपूर्ण चक्रीय पदमार्ग पूरा गर्थे । तर सडक पहुँच विस्तार भएसँगै अहिले धेरै पर्यटक सवारीमार्फत माथिल्लो क्षेत्रसम्म पुग्ने गरेका छन् । यसले पदयात्राको अवधि छोटिएर १० देखि १२ दिनमा सीमित भएको छ ।
परम्परागत पदमार्ग हराउँदै जाँदा गाइड, भरिया तथा स्थानीय होटल व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ । पहिले लामो समयसम्म पदयात्रामा जाने पर्यटकका कारण गाउँगाउँमा होटल, चिया पसल तथा स्थानीय उत्पादनको व्यापार चल्ने गरेको थियो । अहिले सवारी प्रयोग गर्ने पर्यटक बढेपछि धेरै गाउँमा पर्यटक बसाइ घटेको चामेका होटल व्यवसायी शेराप विष्टले बताउनुभयो ।
उहाँका अनुसार सडक आवश्यक भए पनि पदमार्ग जोगाउने योजनाको अभावले समस्या बढेको हो । पर्यटकले शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पैदल यात्राको अनुभव खोज्ने भएकाले सडकसँगै सुरक्षित वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्नेमा विष्टले जोड दिनुभयो ।
सडक निर्माणलाई व्यवस्थित र वातावरणमैत्री बनाई धुलो नियन्त्रण, पैदल यात्रुका लागि छुट्टै मार्ग, सङ्केत बोर्ड तथा विश्रामस्थल निर्माण गर्न सके पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सकिने छ ।