• ४ जेठ २०८३, सोमबार

मुसीकोटमा हुलाकमार्फत ८८ जनालाई राहदानी वितरण

blog

मुसिकोटमा घरमै राहदानी बुझ्दै स्थानीय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), जेठ ४ गते । गुल्मीको मुसीकोट हुलाक कार्यालय मार्फत ८८ जनालाई राहदानी वितरण गरिएको छ ।

गत वैशाख २३ गतेदेखि राहदानी वितरण सुरु गरिएको थियो । मुसीकोट हुलाक प्रमुख मनिषा घिमिरेका अनुसार जिल्ला हुलाक तम्घासबाट दुई  चरणमा आएका १८१ वटा राहदानी मध्ये जेठ १ गतेसम्म ८८ वटा वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला हुलाक कार्यालय तम्घास गुल्मीबिच भएको सम्झौता अनुसार सेवाग्राहीका राहदानी घर वा पायक पर्ने ठाउँमा पुराउन सुरु गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

मुसिकोटका चार वटा अतिरिक्त हुलाक कार्यालय राहदानी सेवाग्राहीको घर वा पायक पर्ने ठाउँमा पठाइएको छ ।

वडा नम्बर १ नेटा अतिरिक्त हुलाकमा चार वटा, वडा नम्बर २ मा १७ वटा, वडा नम्बर ३ मा  ५० वटा, वडा नम्बर ६ कुर्घामा १७ वटा राहदानी पठाइएको छ । 

कतिपय सेवाग्राही भने मुसीकोट हुलाक कार्यालय वामीटक्सारमै आएर राहदानी बुझेको छन् ।राहदानी वितरणमा स्थानीय तहका नगरपालिका तथा वडाको समन्वयमा वितरण गरिएको हुलाकले जनाएको छ । 

राहदानीका लागि सम्बन्धित व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात देखाएर स्वयम् व्यक्ति वा एकाघरको परिवारले टिकट राजश्व वापत ५५ रुपियाँ बुझाएर राहदानी बुझ्न सकिने मुसीकोट हुलाक कार्यालयले जनाएको छ ।