काठमाडौँ, असार ३१ गते । नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्न अझै केही समय लाग्ने भएको छ । चीनमा राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता डेढ वर्षअघि नै भए पनि निर्यात भने हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो । सोही अनुसार पुस २०८० मा मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबिच सम्झौता भएको थियो ।
सम्झौता अनुसार चिनियाँ कम्पनी जियानले नेपाली कम्पनी हिमालयन फुडमार्फत नेपालमा राँगाभैँसीपालन, मासु प्रशोधन र निर्यातका लागि लगानी गर्ने छ । व्यावसायिक भैँसीपालन, नस्ल सुधार, अन्तर्राष्ट्रियस्तरको वधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापनालगायतमा लगानी गरिने बताइएको छ । चिनियाँ कम्पनी जियान मासु प्रशोधन तथा बिक्रीमा अनुभवी कम्पनी हो, चीनमा जियानका छ हजारभन्दा बढी आउटलेट छन् ।
सम्झौतापछि सिन्धुलीको मरिणमा आगामी भदौदेखि पूर्वाधार निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । हिमालयन फुड इन्टरनेसनल प्रालिका अध्यक्ष डा. नवीन शर्माले मासु निर्यातका लागि सिन्धुलीमा जग्गा खरिद गरी पूर्वाधार निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
आवश्यक जग्गा किन्दा हदबन्दीभन्दा माथिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही ढिलाइ भएको छ । डा. शर्माका अनुसार भैँसीपालनका लागि सिन्धुलीको मरिण गाउँपालिकामा ५० बिघा जग्गा खरिद गर्न लागिएको छ ।
त्यसमध्ये १० बिघा पास गरिसकेको र हदबन्दीभन्दा माथि जग्गा रहेकाले स्वीकृति लिएर थप ४० बिघा जग्गा पास गरी आगामी भदौदेखि पूर्वाधारको संरचना तयार गरी भैँसीपालन सुरु गरिने उहाँले जानकारी दिनुभयो । त्यसका साथै त्यहाँ निर्माण हुने फ्याक्ट्री र अन्य पूर्वाधारको डिजाइन तयार भइसकेको छ ।
चीनमा स्वस्थ मासुको माग बढी भएकाले राँगाभैँसीको निरोगिता संवेदनशील विषय बनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन जिल्लामा भैँसीपालन र मासु उत्पादनका लागि रोगमुक्त क्षेत्रको सीमा निर्धारण गरेको जनाएको छ । मन्त्रालयले भैँसीपालन र मासु उत्पादनको पर्याप्त सम्भावना भएका इलाम, सिन्धुपाल्चोक र मकवानपुरलाई रोगमुक्त क्षेत्र घोषणा गरेको हो ।
मासु निर्यातका लागि रोगमुक्त क्षेत्रमा भैँसी उत्पादन र स्वच्छ वधशाला निर्माण गर्नुपर्ने प्रोटकलको व्यवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहोराले मासु निर्यातका लागि सहजीकरण गर्ने काम गरिएको जानकारी दिनुभयो ।
“चीनमा मासु निर्यातका लागि ठुलो बजारमा छ,” उहाँले भन्नुभयो, “यसका लागि मन्त्रालयले प्राविधिक सहजीकरणको काम गरेर निजी क्षेत्रबाट पूर्वाधारको काम हुँदै छ ।” मासु निर्यातका लागि बजार पहिचान भइसकेकाले निजी क्षेत्रले उत्पादन गरेर मासु निर्यात गर्न सके विदेशी मुद्रा भित्र्याई व्यापार घाटासमेत कम गर्न सकिने उहाँको भनाइ छ । मासु निर्यातका लागि तीन तहकै सरकारले निजी क्षेत्रलाई सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
हिमालयन फुड इन्टरनेसनल प्रालिका अध्यक्ष डा. नवीन शर्माले जग्गासहित भैँसीपालनका लागि फ्याक्ट्री बनाउन २७ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । चिनियाँ लगानीकर्ताको लगानीमा मरिणमा भैँसी फार्म निर्माण हुन लागेको हो । यसमा नेपाली व्यवसायीको समेत लगानी छ । सबै काम सकेर एक वर्षभित्र मासु निर्यात गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठुलो भैँसी फार्म सञ्चालन गरी दैनिक पाँच हजार राँगाभैँसीबाट पाँच सय टन मासु निर्यात गर्ने लक्ष्य राखिएको छ । प्रालिले भैँसीका लागि बर्दियाको गुलरियामा घाँस रोप्ने काम सुरु गरेको छ । मुलुकभर रहेका किसानलाई जोड्नलाई भैँसीपालक समूह गठन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३३ लाख सात हजार सङ्ख्यामा राँगाभैँसी थिए । आव २०७९/८० मा ३० लाख ८१ हजार थिए । राँगाभैँसीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आगामी तीन वर्षभित्रमा राँगाभैँसीको सङ्ख्या बढाएर ५० लाख पु¥याउने लक्ष्य राखिएको छ । पछिल्लो समय राँगाभैँसीको मासुसहित ममका लागि प्रयोग हुने गरेको छ ।