नारद कोहार
तौलिहवा, कात्तिक १९ गते । कपिलवस्तुको ऐतिहासिक र ठुलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचाे लागेको छ । शुक्ल पूर्णिमाका दिन बुधबार बाँणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न मङ्गलबार रातिदेखि नै हजारौँ भक्तजन आइरहेका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन । मेलामा टाढा टाढाबाट भक्तजनहरू आएका थिए ।
रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रूपन्देही, अर्घाखाची लगायतका स्थानका श्रद्धालु समेत आएका थिए । भक्तजनहरू रातभर भजनकीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो ।
त्रेतायगुमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न बाँण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ । रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरू बताउँछन् । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलबस्तु नगरपालिका-६ का राम शब्द मिश्राले बताउनुभयो ।
प्राचीन भागिरथी र अहिले बाणगङ्गा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्त्व बाकेको श्रद्धालु भक्तजनहरू बताउँछन् । कपिलवस्तु नगरपालिका–६, थुम्हवाबाट रामघाट आएकी भुता चौहानले यस वर्ष पनि गौ, अन्न सहित पैसा दान गरेका थिइन् । ‘हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छाैं,’ उहाँले भन्नुभयो, ‘बाजे बज्यैको पाला देखिको परम्परालाई कामय राखेका छौं, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ ।’
बाणगङ्गाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा बुधबार लागेको मेलामा ठुलो सङ्ख्यामा श्रद्धालुहरू आएका थिए । मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठुलो सङ्ख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् । सो अवसरमा जिल्लाको कपिलबस्तु, महाराजगन्ज, शिवराज, कृष्णनगर नगरपालिका, मायादेवी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा समेत दिएको थियो ।