• २९ असोज २०८२, बुधबार

तिहारको मुखमा चाँदीको कालोबजारी

blog

काठमाडौँ, असोज २९ गते । तिहार सुरु हुन एक साता बाँकी रहँदा चाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिड लागेको छ । बजारमा चाँदीको कृत्रिम अभाव देखाएर कालोबजारी पनि बढ्न थालेको छ । तिहारमा चाँदीको माग बढी हुने हुँदा आयातकर्ताले कृत्रिम अभाव देखाएर कालोबजारी गरेका हुन् । 

अहिले प्रतितोला चाँदीमा पाँच सय रुपियाँसम्म बढी मूल्य लिई बिक्री गर्ने गरिएको उपभोक्ताको आरोप छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको र तिहारका बेला कृत्रिम अभाव देखाएर थप मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको छ । 

बानेश्वरबाट तिहारका लागि चाँदीको कलश किन्न नयाँ सडक आउनुभएकी पार्वती थापाले चाँदीको मूल्यवृद्धिसँगै ज्यालाले गर्दा थप महँगो भएको जानकारी दिनुभयो । पसलमा व्यापारीले अभाव देखाएर सामानमा बढी मूल्य लिने गरेको उहाँको भनाइ छ । 

व्यापारीहरू भने चाँदीकै अभाव हुँदा मूल्य बढेको दाबी गर्छन् । असनस्थित शाक्य सुनचाँदी पसलका सञ्चालक आशिष शाक्यले बजारमा चाँदीको अभाव भएर तिहारका लागि आवश्यक नयाँ भाँडाका लागि अर्डर लिन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मङ्सिरका लागि खडकुँलोको समेत अर्डर आए पनि बजारमा चाँदी नपाउँदा अर्डर लिन सकेको छैन ।” 

असनका चाँदी व्यापारी मनु स्थापितले बजारमा तिहारमा चाँदीको माग धेरै पनि अभाव हुँदा माग अनुसार वितरण गर्न नसकिएको जानकारी दिनुभयो । नयाँ चाँदी पाउन नसकेकाले पुरानै स्टक सामान वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले तिहारमा चाँदीको माग धेरै हुँदा अन्य समयको तुलनामा कारोबार बढ्ने र अभाव हुने जानकारी दिनुभयो । तिहारमा धेरै चाँदीका सामान बिक्री हुने गरे पनि अभाव हुँदा माग अनुसार वितरण गर्न नसकिएको जानकारी दिनुभयो । 

“निजी क्षेत्रका चार/पाँच व्यवसायीले चाँदीको आयात गर्छन्,” उहाँले भन्नुभयो, “बढी मूल्यमा बिक्री गर्न विचौलियाले कृत्रिम अभाव बनाएकाले अभाव हुन्छ । सरकारी तवरबाट प्रभावकारी अनुगमन गर्न अत्यावश्यक छ ।” तोलामा पाँच सय रुपियाँ बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएको उहाँले पनि जानकारी दिनुभयो ।

व्यवसायीले  चीन, टर्की, हङकङ, स्विट्जरल्यान्ड र संयुक्त अरब इमिरेट्सलगायतका मुलुकबाट चाँदी आयात गर्ने गरेका छन् । विगतका वर्ष तिहारका बेला सात हजार केजीसम्म चाँदी खपत हुने गरेको उहाँको भनाइ छ । यस वर्ष भने बजारमा अभाव हुँदा कारोबार कम हुने उहाँको भनाइ छ । 

पछिल्लो समय चाँदीको मूल्यसमेत बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । महासङ्घका अनुसार गत वर्ष असोज अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ३२५ पुगेको छ । एक वर्षको अवधिमा तोलामा एक हजार चार सय रुपियाँले बढेको छ ।  

तिहारको समयमा सर्वसाधारणले लक्ष्मीपूजा गर्ने गर्छन् । अहिले धन त्रयोदशीका दिन धनतेरस भनेर धेरै सुनचाँदीको कारोबार हुन थालेको छ । लक्ष्मीपूजाका दिन घरमा नयाँ धातु भित्र्याए र पूजा गरेमा वर्षभरि धनआर्जन हुने जनविश्वास छ ।  

सुन दुई लाख पचास हजारनजिक

मङ्गलबार स्थानीय बजारमा सुनको मूल्य बढेर दुई लाख ५० हजार रुपियाँ नजिक पुगेको छ । सोमबार तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा आठ हजार रुपियाँले बढेर दुई लाख ४८ हजार पाँच सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार प्रतिऔँस सुनको मूल्य चार हजार १६८ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

अमेरिकाले चीनबाट निर्यात हुने सामानमा एक सय प्रतिशत कर लगाएका कारणले गर्दा पनि सुनमा लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । आगामी दिनमा सुनको मूल्य थप बढ्दै जाने व्यवसायीले अनुमान गरेका छन् ।