• ३१ असार २०८२, मङ्गलबार

त्रिविकै पाठ्यक्रममा हुबहु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३१ गते । त्रिभुवन विश्वविद्यालयले पाँच महिनाअघि लागु गरेको स्नातकोत्तर (एमए) तहको नेपाली विषयको नयाँ पाठ्यक्रम विवादमा परेको छ । पाठ्यक्रम निर्माणले गर्दा तत्कालीन विषय समितिका प्रमुखलगायतले पूर्वाग्रही र निषेधात्मक प्रणाली अवलम्बन गरेको तथा आफ्नै कृतिका विषयसूची हुबहु नयाँ पाठ्यक्रममा समावेश गरेको आरोप लागेको छ । 

यी आरोपसहित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको थियो । समितिले उजुरीमार्फत लगाइएको आरोपमाथि प्रारम्भिक अध्ययन गर्दा गम्भीर प्रकृतिको देखिएपछि समिति अन्तर्गत रहेको उपसमितिले तीनदिने अल्टिमेटम दिँदै विश्वविद्यालयलाई पत्राचार गरेको छ । समितिले असार २२ गते उपकुलपति कार्यालयमा पत्राचार गरेको हो । समितिमा महिला साहित्यकार समूहको तर्फबाट दिइएको निवेदनमा तत्कालीन नेपाली विषय समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलको डायस्पोराको सैद्धान्तिकस्वरूप (२०७९) कृतिको विषयसूची हुबहु सारिएको आरोप लगाइएको छ । लुइटेल त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुनुहुन्छ । 

महिला साहित्यकार समूहकी संयोजक रीता खत्रीले डायस्पोराको सैद्धान्तिकस्वरूप कृतिको विषयसूचीमा हुबहु राखिनुका साथै पाठ्यघण्टा र पाठ्यक्रममा समेत असन्तुलन रहेको आरोप लगाउनुभयो । पाठ्यक्रममा एकलौटी गरेको विषयमा यसअघि विश्वविद्यालयका शिक्षाध्यक्ष, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन र नेपाली मूल विषय समितिका अध्यक्षलाई तथ्यसहित ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको गुनासो गर्नुभयो ।