अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ९ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्म कुल ६३१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि सो घोषणा गरिएको हो ।
पालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले पनि नियमित खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले बताउनुभयो ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेका थिए ।
त्यस्तै, खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज इन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।
गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नका लागि गएको चैत १७ गतेबाट वडास्तरमा कार्यक्रम गरी वडालाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य गरिएको थियो ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो ।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवम् कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।