• ३ पुस २०८२, बिहिबार

वडा कार्यालयबाट सात लाख बराबरको सामग्री चोरी

blog

पुनर्वास–११ वडा कार्यालय ।

भवानीदत्त भट्ट

कञ्चनपुर, पुस २ गते । कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो । 

गएराति तस्करहरुको अज्ञात समूह वडा कार्यालयमा प्रवेश गरी ६ वटा ताला फुटाएर अत्यावश्यक उपकरण चोरेर लगेपछि सेवा प्रवाहमा समस्या भएको छ । वडा अध्यक्ष अर्यालका अनुसार, वडा कार्यालयमा राखिएका वडा सचिव, प्राविधिक र वडा अध्यक्षले प्रयोग गर्दैआएको एक–एक थान गरी तीन थान ल्यापटप चोरी भएको छ । 

यसैगरी, १८० एमपिएरका ४ थान ब्याट्री, जेनरेटर र एक थान मोबाइल फोन चोरी भएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । वडा कार्यालय नजिकै रहेको सशस्त्र प्रहरीको विओपीले पनि चोरी भएको विषयमा जानकारी नपाएको बताएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । 

वडा कार्यालयमा राखिएका नियमित प्रयोगका उपकरण चोरी भएपछि बुधवार पूर्णरुपमा सेवा ठप्प भएको उहाँले बताउनुभयो । हाल कार्यालयमा एक थान डेस्कटप कम्प्युटर रहेकाले बिहीबारदेखि भने आंशिक रूपमा सेवा सुचारु गरिने वडा अध्यक्ष अर्यालले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले गए राति वडा कार्यालयमा चोरी भएको जानकारी प्राप्त भएकाले यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । वडा अध्यक्षले प्रयोग गर्दैआएको मोबाइल फोन पनि चोरी भएको देखिएकाले विभिन्न माध्यमबाट अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताउनुभयो ।