गजेन्द्र गुरुङ
खजुरा, पुस २ गते । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
च्याउखेती व्यवसायको आम्दानीबाट उहाँले आफ्ना तीन जना छोराछोरीलाई पढाइलेखाइ गराइ स्टाफ नर्स बनाउनुभएको छ । युके र जापानसम्म पठाउनुभएको छ ।
“म च्याउखेती व्यवसायमा लागेको १९–२० वर्ष भयो, यो यात्रामा धेरै उतारचढाव आयो, सुरुमा कैयौँ वर्ष घाटा भयो, पछिल्ला केही वर्षयता भने मनग्य आम्दानी गर्दै आएकी छु, यसैको कमाइबाट छोराछोरीलाई हुर्काएँ, बढाएँ, पढाएँ, उच्च शिक्षासम्म गराएर एउटा छोरी स्टाफ नर्स बनिन् । उनी अहिले जुम्ला अस्पतालमा कार्यरत छिन् ।” उद्यमी बमले भन्नुभयो, “एउटा छोरो युके छ, अर्को छोरी जापान छिन्, सबै यसैको कमाइबाट सम्भव भएको हो ।”
“त्यो समयमा लघु उद्यम भन्ने संस्थामा आबद्ध भएँ, संस्थाबाट सुरुमा अगरबत्ती र मैनबत्ती बनाउने तालिम लिएँ, तालिम लिएपछि ४–५ वर्ष अगरबत्ती र मैनबत्ती बनाउने काम गरेँ, संस्थाले भ्रमणका लागि पाल्पाको मदनपोखरा लिएर गयो ।”
उहाँ सम्झिनुहुन्छ, “त्यहाँ पुगेपछि गएका साथीहरुले अन्य खेती हेर्नुभयो, म भने एकजना दाइले गुर्नभएको च्याउखेती हेरेँ, उहाँसँग कुराकानी गरेँ, च्याउका बारेमा बुझेँ, च्याउखेतीतर्फ मेरो आकर्षण भयो, मनमनमा अब यही खेती गर्छु भन्ने सोच आयो ।”
“त्यहाँ च्याउखेती गरेको देखेर घर आएपछि कुराकानीकै आधारमा च्याउखेती सुरु गरेँ, तर म असफल भएँ, सबै च्याउ कुहियो, तर पनि हिम्मत हारिनँ, पछि कोहलपुर नगरपालिकामा पुगेर कृषि शाखाबाट एकदिने च्याउखेती तालिम लिएँ” उहाँले भन्नुभयो, “त्यसपछि केही सीप र ज्ञान हासिल भयो । केही सहज बन्यो, सुरुका ४–५ वर्ष बिक्री गर्न समस्या भयो, घाटा पनि बेहोरेँ । पछि बजारको समस्या भएन, अनुभव पनि भयो, राम्रो आम्दानी हुँदै गयो । अहिले मासिक ६–७ लाख रुपियाँ आम्दानी भइरहेको छ ।”
बमलाई यस व्यवसायमा उहाँका श्रीमान्ले पनि साथ दिइरहनुभएको छ । साथै चारजना महिलाहरुलाई पनि उहाँले रोजगारीसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिले घरमा श्रीमान् र म मात्रै छौँ, उहाँले मलाई सघाइरहनुभएको छ, अहिले म विभिन्न तालिम दिनका लागि घरबाहिर जानुपर्छ, घर र व्यवसाय दुवैमा श्रीमान्को सहयोग छ, चारजना महिला दिदीबहिनीलाई रोजगारीसमेत दिएकी छु ।”
उहाँ च्याउखेती गर्ने उद्यमी मात्रै नभएर एक कुशल प्रशिक्षकसमेत हुनुहुन्छ । “मैले अहिले च्याउ, मसला, अगरबत्ती, मैनबत्ती, दालमोट, आलु चिप्स लगायतका सामग्री बनाउने तालिम पनि दिन्छु, जिल्लाका विभिन्न स्थान मात्रै नभएर अधिकांश जिल्लाहरुमा प्रशिक्षकका रुपमा पुग्ने गरेकी छु, तालिम दिनका लागि मलाई आउन आग्रह गर्नुहुन्छ, म पुग्ने गर्दछु । समयले मलाई उद्यमी मात्रै नभएर प्रशिक्षकसम्म बनाएको छ । सबैको हातमा सीप र ज्ञान हुनु जरुरी छ” उहाँले भन्नुभयो ।
विगत १० वर्षदेखि ‘नमुना च्याउ फर्म’ दर्ता गराइ ढाई कठ्ठा जमिनमा च्याउखेती गर्दै आउनुभएकी बमको फर्ममा अहिले १० हजार बलबाट च्याउ उत्पादन भइरहेको छ । बम अहिले च्याउ किसान महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।