• ९ वैशाख २०८२, मङ्गलबार

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबिच समझदारीपत्रमा हस्ताक्षर

blog

नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्द प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द समझदारीपत्र आदानप्रदान गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

काठमाडौँ, वैशाख ९ गते । नेपाल प्रहरी अस्पताल महाराजगन्ज र नेपाल नेत्रज्योति सङ्घबिच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्यौजु र नेपाल नेत्रज्योति सङ्घको तर्फबाट सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र सङ्घका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि सङ्घ सदैव तयार रहेको बताउनुभयो ।

उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति सङ्घले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखासम्बन्धी सबै उपचार शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई तीन वर्ष अवधिका लागि लागु हुने छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत नेपाल नेत्रज्योति सङ्घका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।