• १३ असोज २०८१, आइतबार

आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष स्थापना गरिने

blog

अस्पतालको ४० औँ स्थापना दिवस समारोहमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, मंसिर १४ गते । नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्र अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिट्टै शुभारम्भ हुने बताउनुभएको छ । 

सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४० औँ स्थापना दिवसको अवसरमा पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रविधिमैत्री बनाउनु पर्ने तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताउनुभयो । 

विकास फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लैजानु पर्ने कुरामा नेत्र ज्योति सङ्घपछि नपर्ने बताउँदै अत्याधुनिक मोर्डन अस्पतालको रूपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथाशीघ्र शुभारम्भ गर्नुपर्ने बताउनुभयो । 

‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनौँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रूपमा बनाउने सङ्कल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ’ अध्यक्ष पन्तले भन्नुभयो । 

नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ । 

४० औ स्थापना दिवसको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीमध्ये २७ जनालाई दीर्घ सेवा पदक, चार जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदकले सम्मान गरिएको थियो ।