• १२ असोज २०८१, शनिबार

सुवर्ण फर्मासुटिकल्सको भवन अलपत्र

blog

सुवर्ण फर्मासुटिकल्सको अलपत्र भवन । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १४ गते । मोरङको सुन्दरहरैंचा –११ कर्जुनामा रहेको सुवर्ण फर्मासुटिकल्सको भवन भूत बङ्गलामा परिणत भएको छ । धरानमा तत्कालीन सरकारले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गरेपछि सुवर्ण शम्शेर राणाको नाममा औषधि उद्योग स्थापना गर्न २०५५ मा सुवर्ण फर्मासुटिकल्सको भवन शिलान्यास गरिएको थियो । 

प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. शेखर कोइरालाले शिलान्यास गर्नुभएको उद्योगको भवनलाई निकै महत्वाकांंक्षी आयोजनाका रुपमा लिइएको थियो । उद्योग पूर्वाधारको काम अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो । बीपी कोइरालाको नाममा अस्पताल बन्यो । सुवर्णको नाममा औषधि उद्योग स्थापना गरौं भन्ने उद्देश्यले निर्माण थालिएको फर्मासुटिकल्स  २०५८ सम्ममा पूर्वाधार निर्माण गरिसक्ने र २०५९ बाट औषधि उत्पादन थाल्ने योजना थियो । 

उद्योग निर्माणको काम ८५ प्रतिशतभन्दा बढी सम्पन्न भए पनि अझैसम्म फर्मासुटिकल्स सञ्चालनमा आउन सकेको छैन् । अहिले उद्योगको भवन भूत बङ्गलामा परिणत भएको छ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको नाममा रहेको १३ बिघा जग्गामध्ये अढाई बिघा जग्गामा उद्योगको भवन निर्माण भएको छ । ३४ करोड रुपियाँमा निर्माण भएको  भवनमा दुई तलामा २८० कोठा छन् । 

प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले भन्नुभयो– “यो प्रतिष्ठानको निकै ठूलो प्रोजेक्ट हो । यसको सञ्चालनका लागि आवश्यक छलफल भइरहेको छ ।” सङ्ग्रौलाले आफू आएको तीन महिना मात्रै भएकाले विस्तृत अध्ययन गरिनसकेको बताउनुभयो । तत्कालीन पूर्वाञ्चलका लागि औषधि उत्पादन र वितरण गर्न फर्मासुटिकल्स स्थापना गर्ने योजना बनेको उहाँको भनाइ छ । 

प्रतिष्ठानका सामान्य प्रशासन शाखा प्रमुख कमल रायमाझीका अनुसार प्रतिष्ठानले आफ्नो आम्दानीको स्थायी स्रोत निर्माण गर्न औषधि उद्योग खोल्न त्यसबेला ४ करोड ८० लाख रुपियाँ लगानी गरेको बताउनुभयो । साझेदार संस्थाबीच समन्वय नहुँदा उद्योग सञ्चालन नभएको रायमाझीले बताउनुभयो । 

प्रतिष्ठानका गार्ड कृष्णप्रसाद न्यौपानेले भन्नुभयो– “लाखौं मूल्य पर्ने ट्रान्समिटरहरू खिया लागिसकेका छन् । भवनका भित्ताहरू चर्किन थालेका छन् ।” भवनको रेखदेखमा खटाइनुभएका न्यौपानेले जग्गामा अतिक्रमण बढेको बताउनुभयो ।