• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा चार प्रतिशत मत बदर

blog

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १४ गते । ताप्लेजुङमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा करिब चार प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार तुलनात्मक रूपमा प्रतिनिधि सभा सदस्यतर्फको मत बढी बदर भएको हो ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३ दशमलव ९१ प्रतिशत मत बदर भएको छ । प्रतिनिधि सभातर्फ कूल ४८ हजार ५९३ मत खसेकोमा ३.९१ प्रतिशत अर्थात् एक हजार ९०२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै, प्रदेश सभा सदस्यतर्फ प्रदेश निर्वाचन क्षेत्र १ (क) मा ३.४१ प्रतिशत अर्थात् कुल खसेको २६ हजार ४८० मध्ये ९०४ मत बदर भएको छ । प्रदेश निर्वाचन क्षेत्र १ (ख) मा पनि ३.५३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा कूल २१ हजार ८०७ मत खसेकोमा ७७१ मत बदर भयो ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको कूल ८८ हजार २८५ मतदातामध्ये प्रतिनिधि सभातर्फ ४८ हजार ५९३ (५५.०४ प्रतिशत) ले मतदान गरेका थिए । त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र १ (क) मा ४८ हजार ७६१ मध्ये २६ हजार ४८० (५४.३० प्रतिशत) र निर्वाचन क्षेत्र १ (ख) मा ३९ हजार ५२४ मध्ये २१ हजार ८०७ (५५.१७ प्रतिशत) मत खसेको थियो ।