• १३ असोज २०८१, आइतबार

विषाक्त रसायनयुक्त औषधि उत्पादनमा रोक

blog

काठमाडौँ, मङ्सिर १५ गते । औषधि व्यवस्था विभागले इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट भएका औषधि उत्पादन, बिक्रीवितरण नगर्न निर्देशन दिएको छ। विभागले औषधि उत्पादक, आयातकर्ता तथा वितरकलाई यस्ता विषाक्त रसायन मिसावट भएका औषधि बिक्रीवितरण नगर्न निर्देशन दिएको हो।

विभागका प्रवक्ता सन्तोष केसीले बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरूमा यस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले बिक्रीवितरण नगर्न विभागले निर्देशन दिएको बताउनुभयो। उहाँले इन्डोनेसिया, जाम्भियालगायतका देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट औषधि सेवनबाट बालबालिकाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो। उहाँले नेपालमा सचेतनाका लागि त्यस्ता औषधि आयात नगर्न विभागले निर्देशन दिएको जानकारी दिनुभयो। ती औषधिको यकिन गरेर मात्रै बिक्रीवितरण गर्न निर्देशन दिएको उहाँको भनाइ छ।

जाम्बिया तथा इन्डोनेसियालगायतका देशमा यही रसायन मिसिएको औषधि खाँदा थुप्रै बच्चाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरेको थियो। सङ्गठनले विषाक्त रसायनयुक्त मिसावटका कारण बच्चाहरूको मिर्गौलामा गम्भीर असर गर्नुका साथै मृत्युसमेत भएको जनाएको थियो। ती रसायन भारतको माइडेन फर्मास्युटिकल्स लिमिटेड हरियाणाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरप, म्याकअफ बेबी कफ सिरप र मागरिप एन कोल्ड सिरप रहेका थिए। 

औषधि व्यवस्था विभागले नेपालमा इन्डोनेसिया र जाम्भिया देशमा देखिएका समस्या नेपालमा नहोस् भन्ने उद्देश्यसहित सचेत गराइएको प्रवक्ता केसीले जानकारी दिनुभयो। प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिन, ग्लासिरोल जस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने औषधिमा विषादीयुक्त कच्चा पदार्थ नभएको ग्यारेन्टी गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।